
पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितियाको निधन खबरले दुःखी बनाएको बताउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उहाँका संवाद सचिव डा. फणीराज पाठकले आज शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ । सन्देशमा शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवम् बेलायती जनतामा समवेदना व्यक्त गरिएको छ ।
‘महारानी एलिजाबेथ द्वितियाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवम् बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ ।
स्वर्गीय महारानी एलिजाबेथले सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गर्नुभएको छ । एलिजाबेथको ९६ वर्षको उमेरमा हिजो निधन भएको हो । विगत ७० वर्षदेखि त्यहाँको राजगद्दी सम्हालेकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने शासक बनेकी छन् ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शोक बक्तव्य जारी गर्दै महारानीको निधनले आफू दुःखी भएको बताउनुभएको छ ।