एसपीको कमाण्डमा – काठमाडौँ परिसर र ललितपुर परिसर

काठमाडौँ । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक १२ जना (डीआईजी) को दरबन्दी कटौती गरेसँगै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को समेत दरबन्दी कटौतीको तयारी थालेको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र सातवटा प्रदेश प्रहरी तालिम केन्द्रको कमाण्डमा प्रहरी उपरीक्षक (एसपी)लाई खटाउने गरि सरकारले एसएसपीको दरबन्दी कटौती गर्न लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ परिसर, ललितपुर परिसर र सातवटा प्रदेश प्रहरी तालिम केन्द्रको कमाण्डमा एसपीलाई खटाउने गरि मन्त्रीपरिषद्मा ९ एसएसपीको दरबन्दी कटौतीको प्रस्ताव ल्याउन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिइसकेको स्रोतले जानकारी दियो । 

प्रधानमन्त्री ओलीको निर्देशनसँगै गृह मन्त्रालय र प्रहरी हेर्डक्वार्टरबीच छलफल सुरु भएको स्रोतको दावी छ । गृह मन्त्रालय दरबन्दी कटौती गर्ने पक्षमा देखिएको छ भने प्रहरी हेर्डक्वार्टर विपक्षमा छ । 

शुक्रबार गृह मन्त्रालयलले १० जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेसँगै नेपाल प्रहरीमा हाल एसएसपीको रिक्त पद १९ पुगेको छ । रिक्त १९ सिटको लागि प्रहरी उपरीक्षक (एसपी)हरुबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल प्रहरीका ९ जना एसएसपीको दरबन्दी कटौती हुनसक्ने सम्भावना छ । एसएसपीको दरबन्दी कटौतीसँगै काठमाडौँ परिसर र ललितपुर परिसर एसपीको कमाण्डमा रहनेछ । 

‘सरकारले ९ एसएसपीको दरबन्दी कटौती गर्ने तयारी गरेको छ,’ उनले भने, ‘तत्कालै एसएसपीको रिक्त पदमा बढुवा सिफारिस भयो भने त भन्न नसकिएला, तर ढिलो भयो भने दरबन्दी कटौती हुन्छ ।’ 

हाल एसएसपीले कमाण्ड गरिरहेको काठमाडौँ परिसर, ललितपुर परिसर, प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगर, जनकपुर, सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायलमा एसपी रहनेछन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation