सैनामैनाको नगर सभा किन गुपचुप ?

सैनामैना, २८ पुस । सैनामैना नगरपालिकाको १२ औं नगर सभा गुपचुप रुपमै सकिएको छ ।
नगर सभा गुपचुपरुपमै सम्पन्न गर्ने योजना थाहा पाएपछि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग तीव्र असहमति जनाउनु भएको छ ।
विगतको नगरसभामा सैनामैनाका राजनैतिक दल, सञ्चारकर्मी, संघ संस्थाका पदाधिकारी तथा टोल विकास संस्थाका अध्यक्षहरुलाई बोलाउने परम्परा यसपटक मिचिएको छ ।
नगर प्रमुखले आफूहरुले अहिलेसम्म गरेको काम, आगामी योजना तथा अव गर्ने कामका विषयमा नगर सभा अघि कार्यपालिकामा छलफल गर्ने विगतको अभ्यासलाई समेत अहिले चुनौति दिएका छन ।
एक कार्यपालिका सदस्यले गुपचुपरुपमै नगरसभा सकिएको विषयमा चासो राख्दा नगर प्रमुख शर्माको योजनामै भएको प्रतिकृया दिए ।
उनको भनाई थियो– तामझाम गरेर के गर्नु ? सैनामैनामा केही कामै भएको छैन । १२÷१३ करोड राजस्व उठाउने लक्ष्य थियो, अहिलेसम्म जम्मा दुईढाई करोडमात्रै उठेको छ । नगर प्रमुखसंग नगरको विकासका लागि नयाँ योजना र भिजन नै छैन । अनि किन नगर सभा गुपचुप नहोस ?
नगर सभा गुपचुप सम्पन्न गर्ने नगर प्रमुखको नियतप्रति उपप्रमुख र कार्यपालिकाका सदस्यहरुले असहमति जाहेर गरेको श्रोतले जनाएको छ ।
यसअघि चित्रबहादुर कार्की नगर प्रमुख हुँदा भव्य र प्रचारात्मक रुपमा नगर सभा हुने गरेकोमा अहिले गुपचुप भएकोप्रति नगरपालिकाका कर्मचारीहरु समेतले असन्तुष्टी जनाएका छन ।
कतिपय कर्मचारीले त नगर सभा सम्पन्न भएपछिमात्रै नगर सभाको विषयमा जानकारी पाएको गुनासो गरेका थिए ।
उता नगर प्रमुख भने नगरपालिकामा आफूहरुको बहुमत नभएको नाममा जनगुनासोबाट पञ्छिने गरेको स्थानीय सैनामैनाका जनताको गुनासो छ ।
नेपाली कांग्रेसकै नेता कार्यकर्ताहरुले समेत अहिलेको नगरपालिकाको कामप्रति असन्तुष्टी जनाउने गरेको श्रोत बताउँछ ।
छिमेकी पालिकाहरुमा सुरु भैरहेको विकासको काम र विभिन्न गतिविधिले सामाजिक सञ्जाल र आम सञ्चारका माध्यममा स्थान र चर्चा पाईरहँदा सैनामैनाको गतिविधि भने शून्यप्रायः छ ।
नगरपालिकाका एक वडा अध्यक्ष भन्छन– नगर प्रमुखको काम नगरपालिका आउने, दिनभरी बस्ने, चिया खाने र कतै कार्यक्रममा बोलाए सहभागी हुने मात्रै हो । जनताको काम होला र सैनामैनाको विकास होला भनेर नसोचेपनि हुन्छ ।
विहिवारमात्रै गैडहवा गाउँपालिकाको ११ औं गाउँसभा भब्यरुपमा सम्पन्न भएको छ भने छिमेकी बुटवल उपमहानगरको नगर सभा भब्य कार्यक्रम गर्दै हालै सम्पन्न भैसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation