२०७७ वैशाख १५ गते सोमबार
भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा भिडियो अपलोड हुन थालेको १५ वर्ष पुगेको छ । सन् २००५ को फेब्रुअरीमा स्थापना भएको युट्युबमा अप्रिल २३ तारेखमा पहिलोपटक भिडियो अपलोड गरिएको थियो ।
युट्युबका सहसस्थापक जावेद करिमले पहिलोपटक १८ सेकेण्डको भिडियो युट्युबमा अपलोड गरेका थिए । ‘Me at the zoo’ शीर्षकको उक्त भिडियोमा करिमले आफू चिडियाखाना जाँदाको दृश्य समेटेका थिए ।
युट्युबमा अपलोड भएको सबैभन्दा पहिलो उक्त भिडियो अहिलेसम्म ९ करोडपटक हेरिसकिएको छ । र, अर्को रोचक तथ्य के भने करिमको युट्युब च्यानलमा अहिलेसम्म त्यो बाहेक कुनै पनि दोश्रो भिडियो अपलोड भएको छैन ।
भिडियोमा करिमले भनेका छन् । ‘ल ठीक छ । अहिले हामी हात्तीहरुको अगाडि छौं । यी जनावरहरुको सबैभन्दा रोचक कुरा त के भने यिनीहरुको निकै नै लामा दाह्रा छन् । र, यो साँच्ची नै कूल छ ।’
अहिले युट्युब च्यानलमा सबैभन्दा बढी भनिने कुराचाहिँ मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, सामग्रीमा लाइक तथा कमेन्ट गरिदिनुहोला भन्ने आग्रह हो । तर करिमको त्यो भिडियोमा चाहिँ त्यस्तो आग्रह छैन ।
उनी अहिलेलाई भन्नु यत्ति नै हो भनेर आफ्नो भिडियो टुंग्याएका छन् ।
पहिलो भिडियो अपलोड गरेको छोटो समयमै युट्युब लोकप्रियताको शिखरमा पुग्यो । त्यसको एक वर्षमै करिम र उनका अन्य संस्थापक साथीहरुले एक अर्ब ६५ करोड डलरमा युट्युब बिक्री गरे । इन्टरनेट जाएन्ट गुगलले युट्युब खरिद गर्यो ।
अहिले युट्युब विश्वमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो प्लाटर्फम बनेको छ । युट्यबमा अहिले मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब रहेको छ ।
यद्यपि पछिल्ला डेढ दशकमा युट्युबले धेरै आरोह अवरोह व्यहोरेको छ ।
जातिवादी गोराहरुका आपत्तिजनक तथा घृणा फैलाउने खालका भिडियोहरुका कारण कुनै समय युट्युबले व्यापक आलोचनाको सिकार हुनुपर्यो । त्यस्तै कतिपय युट्युब स्टारहरुका जातिवादी तथा यहुदी विरोधी गतिविधिका साथै कतिपय सर्जकहरुका निरासाले युट्युबलाई पिरोल्यो ।
तर अहिले युट्युब सबै खालका उपयोगी सामाग्रीहरुको साझा थलो बनेको छ । दैनिक रुपमा कूल १ अर्ब घण्टासम्म युट्युबमा भिडियोहरु हेरिने गरिएको छ अहिले । र, यो अर्बौ घण्टाको सुरुआत त्यहीँ १८ सेकेण्डको भिडियोबाट भएको हो, जुन युट्युबका संस्थापक करिमले अपलोड गरेका थिए ।