भुटानमाथि संघर्षपूर्ण जित निकालेको नेपाल सेमिफाइनल नजिक

काठमाडौँ । नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।

लगातार तेस्रो जितका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका चार खेलाडी शुन्य रनमा आउट भएका थिए ।

भुटानका लागि अन्जुली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिईन् । अन्जु गुरुङ र सोनमले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १र१ विकेट लिए।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

नेपालले चौथो खेलमा सोमबार कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी/२० क्वालिफायर खेल्न पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation