बुटवल । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङ विरुद्ध ब्याटिङ गर्दै छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका क्याप्टेन रोहित पौडेलले ब्याटिङ पहिला गर्ने निर्णय लिएका हुन् । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपालले आजको खेलमा पनि जित दर्ता गर्दै फाइनल यात्रा तय गर्न चाहान्छ ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।
दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।
करण केसीको ४ विकेटमा हङकङलाई ९४ रनमै अलआउट गरेको नेपालले १३ दशमलव ५ ओभरमै ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए ।
ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।
बलिङमा नेपालको फास्ट बलिङ अट्याक जमिरहेको छ । करण र सोमपालले नयाँ बल फाल्छन् भने अविनाश बोहरा डेथ ओभर बलिङ गर्छन् । यस्तै अलराउण्डर गुल्सन झाले बलिङ र ब्याटिङ दुवैमा प्रभाव पार्न सक्छन् । उनले पहिलो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ५ बलमै अविजित १४ रन बनाएका थिए ।