कोरोना पुष्टि : रुपन्देहीको पुर्निहवा सिल

भैरहवा : रुपन्देहीमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका-१ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले अन्नपूर्णलाई बताए। अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न पाइँदैन। उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ। गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् ।

‘कोटहीमाईलगायत अन्य क्षेत्रमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ,’ एसपी थापाले भने, ‘सर्वसाधरणको मुभमेन्टलाई पूर्णरुपमा रोक लगाएको छ।’ भारतको दिल्लीमा मजदुरी गर्दै आएका संक्रमित युवालाई लकडाउनले समस्या परेपछि बैशाख ५ गते उनी सम्मरीमाई गाउँपालिकाको ठोठरी नाकाबाट लुकेर प्रवेश गरेका थिए। 

प्रवेश गर्ने क्रममा उनका दाइ सीमामा पुगेका थिए। तर, सीमाबाट घर नपर्‍याइ स्थानीय क्वारेन्टाइनमा लगेर राखेका थिए । बैशाख १७ गते क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हो 

अहिले ती युवा अस्थायी विशेष कोरोना अस्पतालमा बुटवलमा उपचारत छन् । उनको स्वास्थ्य अवस्थामा समान्य रहेको बताइएको छ ।  ‘सीमामा लिन गएका दाइलाई क्वारेन्टाइनमा पठाइसकेका छौँ,’ एसपी थापाले अन्नपूर्णसँग भने, ‘परिवारलाई पनि भोली क्वारेन्टाइनमा पठाइने छ र सबैको स्वास्थ्य परीक्षण हुनेछ।’ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation