समीकरण फेरियो – नेकपा

काठमाडौं :  पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका नेकेही नेताले पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको भन्दै गत १७ वैशाखको सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए। तर, शनिबारको बैठकमा भने एकाएक देखिएको नेताबीचको मेलमिलाप नीतिपछि नेताहरूका असन्तुष्टि र आक्रोश मत्थर मात्र भएको छैन, प्रधानमन्त्री तथा अध्यक्ष ओलीदेखि सबै नेताले आ–आफ्ना कमजोरी स्वीर्कादै आत्मआलोचना समेत गरेका छन्। प्रधानमन्त्री ओलीले बैठकमा पार्टी र सरकार सञ्चालनमा आफ्ना तर्फबाट कमजोरी भएको भन्दै आत्मआलोचना गरेपछि राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटेका थिए।

ओलीले विगतमा सरकारबाट पार्टीलाई छलेर कतिपय निर्णय गर्दा कमजोरी भएको र अबका दिनमा त्यसरी नजाने प्रतिवद्धतासहित आत्मआलोचना गरेको सचिवालयका एक सदस्यले जानकारी दिए। ‘म सबै कुरा मान्छु। मैले पार्टी र सरकारबीच समन्वय गरेर अगाडि बढ्ने कुरामा गल्ती गरें। जे–जे गरे मैले ठिक गरिन्। त्यसका लागि म गम्भीर आत्मआलोचना गर्छु’, ओलीलाई उदृत गर्दै एक सदस्यले सुनाए, ‘म सरकार सञ्चालनका विषयमा अब पार्टीको विधि र पद्दती अनुसार पार्टी निर्णयका आधारमै अगाडि जान्छु। तपाईहरूले पनि आफ्ना तर्फबाट भएका कमजोरीको जिम्मा लिनुहोस्। अब एकतावद्ध भएर जाऔं।’

अध्यक्ष दाहालले पनि नेताहरूबीचमा अविश्वास पैदा हुनेमा सबै पक्षबाट कमी कमजोरी भएको र त्यसलाई सच्चाउँदै एकतावद्ध भएर जानुको विकल्प नरहेको भन्दै आफ्नो कमजोरी स्वीकारेका थिए। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले बैठकमा आत्मआलोचना गरेको र अर्का अध्यक्ष दाहाललगायतका अन्य नेताले पनि आ–आफ्नो जिम्मेवारीका हकमा आत्मआलोचित हुँदै पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्या र संकटलाई समाधान गर्न एकतावद्ध भएर पार्टी एकताको पक्षमा ढृढ रहने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिए।

‘पार्टी एकताको रक्षा गर्ने र सुढृढ गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र फुट उन्मुख गर्ने कुनै क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

सचिवालयका अर्का एक सदस्यका अनुसार, बैठकमा दुई अध्यक्षपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले एकतावद्ध भएर जाने प्रतिवद्धता नेताहरूबाट आएपछि त्यसरी नै जानु उपयुक्त रहेको धारणा राखेको थिए। खनाल अघिल्लो बैठकमा भन्दा नम्र भाषामा शनिबारको बैठकमा प्रस्तुत भएका थिए। ंखनालले स्थायी समिति बैठक बोलाउन माग गरेका थिए।

खनालपछि बोलेका बरिष्ठ नेता नेपालले एकतावद्ध भएर जाने, कमी कमजोरी स्वीकार गर्ने विषय सही भए पनि दुई नेताको चोचोमोचो मात्र मिलाउने कुरा मात्र हो भने आफूले त्यसलाई नमान्ने बताएका थिए। उनले पार्टी नेताहरूले स्थायी समिति बैठक माग गरेकोले स्थायी समिति बैठक बोलाउनु पर्ने धारणा राखेका थिए।

उपाध्यक्ष वामदेव गौतमले भने नेताहरूबीच मेलमिलाप देखिनु, एकतावद्ध भएर जाने विषय आउनु असाध्यै राम्रो भएको बताउँदै नेताहरूले गुटबन्दी त्याग्नुपर्ने धारणा राखेका थिए।

प्रवक्ता श्रेष्ठले एकताका कुरा आउनु अत्यन्त खुसीको विषय भएको धारणा राख्दै अब पार्टी विभाजनको खतरा अन्त्य हुनुपर्ने बताएका थिए। उनले भैंसेपाटी बैठकले अध्यादेश फिर्ता लिन लगाउने र नभए स्थायी समिति बैठक बोलाएर भए पनि अध्यादेश फिर्ता गराउने भन्ने मात्र निष्र्कष निकालेको भए पनि राजीनामाको विषय कहाँबाट आएको भन्दै प्रश्न गरेका थिए।

‘भैंसेपाटी बैठकले अध्यादेश फिर्ता लिन लगाउने भन्ने वाहेकको कुनै निष्र्कष निकालेको थिएन। राजीनामाको विषय नै कहीं कतै थिएन। पार्टी फुटमा लैजाने तरंगित बनाउने विषय कसरी आए ? ’ श्रेष्ठलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘म कसैका ब्यक्तिगत स्वार्थ केन्द्रित गुटगत बैठकहरूमा भाग लिने छैन। गौतमजीको अघिल्लो सचिवालयमा प्रधानमन्त्री बनाउने प्रस्ताव फिर्ता भएको हो वा के हो ? यस विषयमा बैठकमा प्रष्टाउनु आवश्यक छ।’

सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र विष्णु पौडेलले भने नेताहरूका बीचमा रूपान्तरणसहितको एकताको कुरा आएकोले सकारात्मक सन्देश गएको धारणा राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation