टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

१३ बैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ ।

कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । यो प्रकरणमा थुनामा रहेका १० जनाले गरेको पुनरावेदनमा सुनुवाईपछि बिहीबार सर्वोच्च अदालतले आदेश गरेको हो ।
सर्वोच्चले आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा छाड्न भनिएको छ।

काठमाडौं जिल्ला अदालतले तत्काल पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले ९ जनाको हकमा थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालत पुगेका थिए । रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, डा। ईन्द्रजित राई, सागर राईको हकमा भने थुनामै रहने आदेश भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ठगी, सरकारी कीर्ते, संगठित अपराध, राज्यविरुद्धको अपराधलगायत कसुरमा उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको थियो । यसअघि नेपाली कांग्रेसका सांसद बालकृष्ण खाण उच्च अदालत पाटनबाट छुटेका थिए। जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेकामा उच्च अदालतले उनको हकमा धरौटी माग गरेको थियो ।

अब थुनामा रहेकाहरु कम्तिमा जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation