विद्यालयमा शैक्षिक सामग्री वितरण

रुपन्देहीका सामाजिक अभियान्ताहरुले विद्यालयमा शैक्षिक सामाग्री वितरण सुरु गरेका छन । आफ्नो नास्ता खर्च कटाएर गरिब तथा बिपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण सुरु गरेका हुन् ।

अभियान्ताहरुले मंगलबार रूपन्देहीको कञ्चन गाउँपालिका १ लौसामा रहेको दुर्गा माध्यमिक विद्यालयका ६० जना गरिब तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सामाजिक अभियान्ताहरु डोलराज भण्डारीको नेतृत्वमा नेत्र लामिछाने, आनन्द गिरी, सुदर्शन अवधको टोलीले मंगलबार विद्यालयमा पुगेर विद्यार्थीलाई कापी, कलम वितरण गरेको हो । सामाजिक अभियान्ता डोलराज भण्डारीले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापि कलम वितरणको अभियान सुरु गरिएको बताए । जेहेन्दार तथा गरिब बिपन्न परिवारका विद्यार्थीलाई पढ्नको लागि सहयोग गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको उनको भनाई छ । रुपन्देही जिल्लामा रहेका १४२ जना अभियान्ताहरुले शिक्षा क्षेत्रको सुधारको लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरणको लागि अभियान सञ्चालन गरिएको भण्डारीले बताए ।

कञ्चन गाउँपालिका वडा न. १ का वडा अध्यक्ष हरिनारायण थारूले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापी कलम वितरण गरेर अभियान्ताहरूले उदाहरणीय काम गरेको बताए । दुर्गा माविमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेको बताउँदै उनले विद्यालयको भवन निर्माणको लागि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर कार्कीले गरिब तथा विपन्न वर्गका बालबालिका दुर्गा माविमा पढ्न आउने गरेको र शैक्षिक सामग्रीको अभावले पठनपाठनमा प्रभावित नहोस् भन्दै अभियान्ताहरुको सहयोग आएको बताए । विद्यालयमा प्रयाप्त भवन नभएको बताउँदै उनले भवन निर्माणको लागि समेत सहयोग गर्नको लागि आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक जागेश्वर अधिकारीले २०४८ सालमा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि १० कक्षासम्म ४ सय विद्यार्थी रहेको र भवनको अभावले पठनपाठनमा समस्या हुने गरेको बताए । यस्तै सैनामैना ९ भरैयाका अग्नि पीडितलाई पनि शैक्षिक सामग्री र पोशाक प्रदान गरिएको अभियान्ता आनन्द गिरीले जानकारी दिए । गरिबीको कारणले भर्ना हुनबाट बञ्चित रहेका बालबालिकालाई पनि विद्यालय भर्नाको सहयोग गरिने उनले बताए । विद्यालयका शिक्षक निर्मल अधिकारीले पनि आफ्नो धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation