सैनामैनामा योग चिकित्सा जागरण सुरु

 

 बैशाख २२ गते । रुपन्देहीको सैनामैनास्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सप्ताह ब्यापी रुपमा योग चिकित्सा जागरण कार्यक्रम शुरु भएको छ । आगामी २८ गतेसम्म योग चिकित्सा जागरण सप्ताह चल्ने छ ।

प्राकृतिक जीवन शैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दिर्घजीवी बनौं भन्ने नाराका साथ योग चिकित्सा जागरण कार्यक्रम शनिबारदेखि शुरु भएको हो ।
सैनामैना १ बनकट्टास्थित प्राकृतिक चिकित्सालयमा योग चिकित्सा जागरण सप्ताह शुरु भएको हो । प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाई निरोगी र दिर्घजीवी बन्न सबैलाई आग्रह गरिएको छ ।

उक्त योग चिकित्सा जागरण कार्यक्रम उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले पछिल्लो समय परिवर्तित स्वभाव र आहार बिहारका कारण मानव जीवनशैली बिकराल बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै योग ध्यान, आयाम, ब्यायाम, प्रणायमबाट जीवन सुखमय बन्ने बताए । योग तथा प्राकृतिक चिकित्सा पद्धतीका सम्बन्धमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयले पुराएको योगदानको चर्चा गर्दै नगर प्रमुख शर्माले यसको बिकास र प्रबद्र्धनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा योग चिकित्सा जागरण अभियान तथा सहयात्रा राष्ट्रका लागि युवा नेपालका संयोजक डा. निकोलस भुसालले अभियानमा सहभागि भै प्रयाप्त मात्रामा स्वास्थ्य लाभ लिन सबैलाई आग्रह गर्दै धार्मिक, आध्यात्मिक र ज्ञान बिज्ञानको समिश्रण नै प्राकृतिक योग तथा चिकित्सा पद्धती हो भने ।

पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बाल योगेश्वर बैष्णवानन्द, दिनमणी बस्याल, धुव्रकुमार घिमिरे, चिन्तामणी शर्मा लगाएत बिभिन्न योग गुरुबाट योग, ध्यान, ज्ञान र बिज्ञानको प्रयोगबाट गरिने उपचार पद्धतीका बारेमा जानकारी गराइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation