नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने

३१ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जानकारी दिएको छ । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए ।

 

त्यतिबेला उनीहरुले मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए । यसअघि पनि नेपालले गत चैतमा बहराइनविरुद्ध खेल्नुपर्ने विश्वकप छनोटकै खेल पनि दशरथ रंगशाला मैदानकै कमजोरीका कारण बहराइनमै गएर होम म्याच खेलेको थियो ।

रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ । तोकिएको समयसीमाभित्र न्युट्रल भेन्यू नभए नेपालले यूएईसँगको होम म्याच गुमाउने छ भने नयाँ भेन्यू एएफसीले नै खोज्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation