ओमसतिया गाउँपालिकामा उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

भैरहवा, ४ जेठ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार (आज) देखि उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको प्रागंणमा रहेको भलिबल मैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाहरुले सहभागीता जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।  प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ वटा वडाका टीम र गाउँपालिकामा कार्यरत महिला कर्मचारी गरी ७ वटा टीमको सहभागीता रहेका लेखा अधिकृत कमल प्रसाद शर्माले बताए ।

प्रतियोगिताको गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) उपाध्यक्ष सुनिता चौधरी र प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतियोगिताकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले प्रतियोगिताले महिलाहरुलाई खेलकुद गतिविधिमा अगाडी बढाउन मद्दत गर्ने बताइन् । महिलालाई दैनिक घरचुल्होको काम सकेर आफूमा रहेको सीप कला देखाउने अवसर खेलकुद रहेको र खेलको माध्यमबाट स्वास्थ्य पनि राम्रो हुने उनले बताइन् । उनले गाउँपालिकामा नयाँ खेलाडी उत्पादन गर्न पनि प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

भलिबल प्रतियोगिताको उदघाटन सत्रको सञ्चालन गाउँपालिकाकी प्रशासन शाखा प्रमुख रुपा थापा रावतले गरेकी थिइन् । प्रतियोगिताको बारेमा जानकारी तथा स्वागत ओमसतिया गाउँपालिका  सूचना प्रविधि अधिकृत ध्रुब पराजुलीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation