लुम्बिनी विकास कोषद्वारा स्थानीयका समस्या कार्यतालिका नै बनाएर सम्बोधन गर्ने प्रयास

रुपन्देही। भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ ।

लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धचरण) को अध्यक्षतामा लुम्बिनी बचाऔं महाअभियान र लुम्बिनी होटल संघ नेपाल सहित सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरी कोषले माग सम्बोधन गर्ने भएको हो ।

स्थानीयहरुसँग कोभिड पछाडि बन्द रहेको लुम्बिनी संग्राहलय असोज १ गतेबाट सबैका लागि खुला राख्ने, मायादेवि मन्दिरको स्वरुप परिवर्तन र पुर्नसरचना गर्न नपाईने, स्थानीयसंग लुम्बिनी कार्यक्रम अन्तर्गत संरक्षण शुल्कको दश प्रतिशत स्थानीय पालिका संग सहकार्य र साझेदारी गर्न संयुक्त कार्यविधि बनाउने, मोनाष्टी र होटल व्यवसायी र अन्य सरोकारवाला संलग्न रहेको कार्यविधि निर्माण गर्ने एक कार्यदल बनाउने, मायांदेवि प्रवेश शुल्कबारे सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्ने लगायतका बिषय रहेको छ ।
यसैगरी कतिपय नीतिगत सुधारका पक्षमा कोषको परिषद बैठकमा प्रस्ताव लैजाने पनि संघर्षरत पक्षसंग कोषले सहमति गरेको छ ।

स्थानीय लुम्बिनी बचाऔं महाभियान र होटल एशोसियसन लुम्बिनीले विभिन्न मागहरु राखेर कोषमा धर्ना र तालाबन्दी समेतका आन्दोलनका कार्यक्रमहरु भएका थिए ।

कोषले गत जेष्ठ महिनामा कोषाध्यक्ष ढुण्डिराज भटराई (सिद्धिचरण) को संयोजकत्वमा सरोकारवाला र लुम्बिनी सांस्कृतिक नगरपालिका समेत रहेको कार्यदल बनाएको थियो । उक्त कार्यदलले दिएको १२ बुँदे तत्काल कार्यन्वयन गर्न सकिने सवालहरु यकिन गरेर कोषलाई सिफारिस समेत गरेको थियो ।

यसैगरी होटल व्यवसायी संघ र लुम्बिनी स्थित बौद्ध विहारहरुले गेष्ट हाउस चलाएको भन्ने बिषयमा विवादहरु उत्पन्न भएकोमा एक संयुक्त अध्ययन कार्यदलले समेत प्रतिवेदन दिएको थियो । ति सवाललाई कार्यन्वयन गर्ने बिषयमा कार्यवाहक उपाध्यक्ष समेत रहेका भट्टराईले साउन २३ गते कोषका सदस्य सचिव, योजना प्रमुख तथा शाखा प्रमुखहरुलाई राखेर कोषको स्पष्ट धारणा तयार गर्न निर्देशन दिएका थिए । बुधबार बसेको कोष र होटल व्यवसायीसँगको बैठकले विहार गुम्बा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने समझदारी बनेको हो । कोषका सूचना तथा जनसम्पर्क प्रमख डा। हरिध्वज राईको संयोजकत्वमा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी गुरुयोजना भित्रका विहार गुम्बाहरुको समिति लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, जिल्ला प्रशासन कार्यालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रतिनिधि रहने गरी ९ सदस्यीय कार्यदल बनेको छ ।

छलफलबाट प्राप्त सुझावलाई आधार बनाएर सदस्य सचिवले कार्यसम्पादन तालिका तयार गरी अनुमोदन गरी आन्दोलनरत पक्षसंग सहमति लिन अलग अलग चरणबद्ध बैठकहरु गरिएको थियो ।

बैठकपछि स्थानीयहरुसंगको सहकार्य र सहमतिले लुम्बिनीको विकासमा सकारात्मक परिवर्तन ल्याउने आशा जागेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । भएका कार्यसम्पादन तालिका र सहमतिका बुँदाहरुलाई कोषले इमान्दारीपुर्वक कार्यन्वयन भएमा स्थानिय जनतामा कोषप्रति बिश्वास जागृत हुने लुम्बिनी बचाऔं अभियानका संयोजक अकरमुद्धिनले बताए ।
यसैगरी होटल एशोसिएसनका अध्यक्ष गोबिन्द ज्ञवालीले भएका सहमतिले सबै पक्षलाई फाईदा पुग्ने भएकोले कार्यन्वयन उद्देश्यपरक हुनु पर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation