रुपन्देहीमा भन्सार छलि रोक्न प्रशासन असफल ः कडाई गर्न ध्यानाकर्षण

 

बुटवल । रुपन्देहीमा सीमाक्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलिलाई रोक्न रुपन्देही प्रशासन तथा नियामक निकाय असफल भएको आरोप लागेको छ । रुपन्देही क्रियाशिल विभिन्न निजी व्यवसायीहरुको छाता संगठनले नेपाल–भारत खुल्ला सिमानामा हुने चोरी निकासी रोक्न ध्यानाकर्षण गराएका छन् ।

कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राजश्व संकलन तथा व्यवसायीक कारोवारमा असर गरेको भन्दै भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराएका हुन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संघ र रुपन्देही व्यापार संघले विहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सीमा नाकाबाट हुने अवैध कारोवार र खुल्ला गतिविधिले थप पलायन हुन अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सीमा नाकाबाट हुने अवैध कारोबार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउँदै सुधारका लागि आग्रह गरिएको छ ।

सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैं–तिहार जस्ता प्रमुख चाडहरुमा नेपाली बजार सुनसान हुने भारतीय बजार गुल्जार हुने वातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गरे । देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान अनुरोध गरे । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अवैध कारोवारका कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेरको बताउँदै सीमा नियमन कडाई गर्दै अवैध रुपमा हुने सबैप्रकारका कारोवार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली बजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैध कारोबार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने बताए । उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले सरकारी कार्यालयहरुको समन्वय र सक्रियामा देखिएको ढिला सुस्तीले अवैध कारोवारीले प्रश्रय पाएको अरोप लगाउदै भन्सारमा कडाई गर्ने कुरामा गम्भिर बन्न अनुरोध गरे ।

सो अवसरमा ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अवैध कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्तताप्रति आफू सचेत रहेको उल्लेख गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रवन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अवैध धन्दालाई निरुत्साहित गर्ने कुरामा आफू जिम्मेवार बन्ने र अगाडि बढ्ने प्रतिवद्धता गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation