विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको पहल

दाङ। लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको रुपमा परिचालन भएको र जसबाट क्षति न्यूनीकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।

प्रभावकारी खोज तथा उद्वार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायकाबीच सुदृढ सहकार्यले क्षति न्यूनीकरण गर्न मद्दत पुगेको हो । ‘यो विपदको घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन । जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसै गरी परिचालन हुन जरुरी छ’उनले भने,‘समुदायका नागरिकहरु पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानको पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पु¥याउन सुरक्षा निकायलाई सहयोग गर्न सकिन्छ । यो भूमिका समुदायका नागरिकले निभाउनु भएको छ ।’

त्यस्तै आपतकालिन उद्वार टोलीमार्फत अवरुद्ध सडक सुचारु गरिएको, बाढी तथा पहिरोमा परेकाहरुको खोज तथा उद्वारको काम भएको छ । तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचारु गर्न आपतकालिन उद्वार टोली खटिएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

जिल्ला सदरमुकाम जोड्ने सडकहरु सुचारु भएका छन । भालुबाङ–प्युठान सडक खण्ड, गोरुसिङ्गे–अर्घाखाँची, दाङ–सल्यान राप्ती लोकमार्ग सुचारु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रोल्पा जोड्ने सहिद मार्ग, पाल्पाको रानी महल जोड्ने, दाङ–प्युठान जोड्ने भित्री सडक, गुल्मीको छत्रकोटको भित्री सडकमा झरेको पहिरो पन्छ्याउने काम चलिरहेको छ । तराईका जिल्लामा सडक सुचारु अवस्थामा छ ।

विपद् भएको ठाउँमा तुरुन्त उद्वार टोली परिचालन भएको र स्थानीय नागरिकहरुले स्वयंसेवकको समेत भूमिका निर्वाह गरेका छन् । बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको समेत मुख्यमन्त्री आचार्यले बताए । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरुसँग निरन्तर सम्पर्कमा छु । जहाँ विपद् आईपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ’उनले भने,‘समुदायस्तरबाट पनि खोज तथा उद्वारको काम गर्न सकिन्छ । सुरक्षाकर्मीको समन्वयमा स्थानीयबासिन्दा पनि स्वयंसेवकको रुपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा यो सहकार्य भएको पनि छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation