सैनामैना, १४ असोज ।
रुपन्देहीको सैनामैना नगरपालिकाको शिक्षा शाखामा छैठौ तहको कुनै दरबन्दी नै छैन तर बिडम्बना सैनामैनाको शिक्षा क्षेत्र दरबन्दी नै नभएको छैठौ तहको अधिकृतको भरमा बिगत चार बर्षदेखि चल्दै आएको छ ।
सैनामैना नगरपालिकाको शिक्षा शाखामा ९ औं र १० औं तहको उपसचिवको दरबन्दी छ तर दरबन्दी नै नभएको छैठौं तहको अधिकृतको भरमा नगरको शिक्षा शाखा संचालन हुँदा सबै मुकदर्शक बनेका छन् ।
दरबन्दी अनुसारको कर्मचारी नआउँदा दरबन्दी नै कायम नभएको छैठौ तहकी अधिकृत राधा बञ्जाडेले कामचलाउको भरमा एकलौटी गर्दै आएको गुनासो बढेको छ ।
नगरको शिक्षा शाखामा उपसचिव ९ औं र १० औं तहमध्ये एक, अधिकृत ७ औं र ८ औ तहमध्ये एक र पाँचौ तहमा दरबन्दी रहेको छ ।
एक श्रोतका अनुसार छैठौं तहकी अधिकृत बञ्जाडेले पहुँच र दबाबको भरमा सैनामैनामा उपल्लो तहको उपसचिवमा कसैलाई आउन नदिन सफल भएकी छिन । बञ्जाडेको श्रीमान माधव बञ्जाडे रुपन्देहीको जिल्ला शिक्षा इकाई प्रमुख छन । बञ्जाडे यसअघि विभिन्न समयमा विवादमा परेका अधिकृत हुन ।
सैनामैनाकी शिक्षा अधिकृत राधा बञ्जाडेको दरबन्दी अर्घाखाँचीमा रहेको छ भने सैनामैनामा पहुँचकै आधारमा विगत चार बर्षदेखि काजमै कार्यरत रहेकी छिन ।
अझै रोचक कुरा के छ भने अहिले सैनामैनामा संघ सरकारले ९ जना मावि तहको शिक्षकको दरबन्दी दिएको छ । उक्त शिक्षक नियुक्तीका लागि हुने छनोट प्रकृयामा जाने नगरको शिक्षा शाखाका प्रतिनिधिले कुनै नियममै नभएको भत्ता लिने गरेका छन ।
नगरको शिक्षा शाखाको प्रतिनिधित्व गर्दै जाने कर्मचारीले सामान्य बिद्यालयमा ५ हजार र आर्थिकरुपमा सम्पन्न बिद्यालयमा त्यस भन्दा बढी रकम बुुझ्ने गरेको पाइएको छ ।
त्यस्तै सामुदायिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको चयन प्रकृया सहजीकरणको लागि भन्दै जाने नगरको शिक्षा शाखाका कर्मचारीले विद्यालयबाट दैनिक ४, ५ हजार रकम भरपाई गरि बुुझ्ने गरेको गुनासो विद्यालयहरुले गरेका छन ।
दैनिक हजारौं रकम भत्ताको रुपमा बुझ्न पाईने भएकोले शिक्षक छनोट प्रकृयामा जान नगरको शिक्षा शाखाका कर्मचारीबीच हानथाप हुने गरेको छ ।
यता सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाको समन्वय हुन नसक्दा कोटियादेवी माध्यमिक बिद्यालयको शिक्षक छनोट प्रकृयामा ढिलाई भएको छ ।
प्रशासकीय अधिकृतले पाँचौ तहको कर्मचारीलाई नगर प्रतिनिधि तोकेकोमा शिक्षा अधिकृतले आफू जान पाउनुपर्ने भन्ने अडान राख्दा छनौट प्रकृया नै रोकिएको श्रोतले जनाएको छ ।
नगरका शिक्षकहरुले दरबन्दी नै नभएको अधिकृतको भरमा सैनामैनाको शिक्षा शाखा संचालन हुँदा आफूहरु अभिभावकविहीन जस्तै भएको गुनासो गरे ।
यस बिषयमा बुझ्न जाँदा शिक्षा शाखा प्रमुख बञ्जाडे पछि जवाफ दिने भन्दै कार्यकक्षबाट बाहिरिईन ।
उता नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग यस बारेमा बुझ्दा प्रदेश निजामति ऐनले गर्दा कर्मचारी आउन ढिलाई भएको बताउँदै ऐन लागू भएपछि मात्रै दरबन्दी अनुसारको कर्मचारी आउने उल्लेख गर्नुभयो ।