लुम्बिनी प्रदेश ः चार दिनमा विपदबाट एक करोड बढीको क्षति

लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड बढीको क्षति भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना १ करोड ४३ लाख बराबरको क्षति भएको छ ।

असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक वर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन ।

विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाइते र एकजना बेपत्ता भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुईजना र पानीमा डुबेर बाँकेमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने १ सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । ७ वटा गोठमा पनि क्षति पुगेको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।

लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गरेका थिए । सोही अनुसार समुदाय, प्रहरी–प्रशासन र स्वयंसेवकहरु परिचालन भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation