अनुगमनलाई तिव्र बनाउदै कञ्चन गाउँपालिका, प्रायजसो पसलहरुमा म्याद सकिएका सामान

१८ असोज, कञ्चन

रुपन्देहीको कञ्चन गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र सञ्चालित बजार तथा पसलहरुको अनुगमन गरेको छ। बजार अनुगमनको क्रममा कञ्चनका प्राय पसलहरुमा म्याद सकिएका र विल विजक विनाका सामानहरु फेला परेका छन।

बजार अनुगमन समितिका संयोजक तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको नेतृत्वमा सम्बन्धित वडाका जनप्रतिनीधि, प्रशासन शाखा प्रमुख गिरीराज अर्याल, सुरक्षाकर्मी र नगर प्रहरी सहितको संयुक्त अनुगमन टोलीले कञ्चनको गरगरे, बरपिपलचोक, थकालीचोक र हरैया बजारमा संचालन भएका व्यबसायिक फर्म तथा पसलहरुको अनुगमन गरेको हो। अनुगमनको क्रममा फेला परेका म्याद गुज्रेका सामान, विल वीजक विनाका सामान, मापदण्ड विपरीतका ढक तराजु, अनुमती नलिई संचालन भएका बिभिन्न पसलहरुमा राखिएका सामानहरु समेत पालिकाले बरामद गरेको छ।

यसैगरी अनुमती नलिई संचालन भएका व्यबसायिक फर्म तथा पसलहरुलाई १ हप्ताको समय दिई पालिका, आन्तरिक राजस्व कार्यलय र घरेलु तथा वाणिज्य कार्यालयमा समेत दर्ता गरी नियमानुसार पसल संचालन गर्न समेत सल्लाह दिइएको कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले जानकारी दिनु भयो। अनुगमनको क्रममा व्यवसाय संचालन गर्ने उद्धेश्य र प्रकृति अर्कै छ तर पसलमा व्यवसाय दर्ता पत्रमा उल्लेख नभएका सामानहरु समेत बिक्री वितरण गरेको पाइएकोले उनिहरुलाई एक हप्ता भित्र आवश्यक कागजात पुरा गरेर संचालन गर्न निर्देशन दिइएको कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख गिरीराज अर्यालले जानकारी दिनु भयो।

बिशेषगरी म्याद गुज्रेका सामानहरुको बिक्री वितरणले ग्राहकहरुको स्वास्थ्यलाई ठूलो हानी पुर्याउने र त्यस विषयमा व्यबसायी समेत सतर्क हुन आवश्यक रहेको पनि समय समयमा बजार अनुगमन आवश्यक रहेको वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले बताउनु भयो। धेरैजसो व्यबसायी र ग्राहकले समेत सामान किन्नु र बेच्नु भन्दा अगाडी आफुले किन्दै वा बेच्दै गरेको सामानको उपभोगिय समय हेर्नुपर्ने उपाध्यक्ष मौसमी थापा मगरले आग्रह गर्नुभयो ।
बजार अनुगमन सम्पन्न

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation