योजना अनुगमनपछि मुख्यमन्त्री आचार्यको चेतावनी ः ढिलासुस्तीलाई सरकारले सहदैन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उनले ढिलासुस्तीलाई नसहने स्पष्ट पारे ।

दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढेपनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमकनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए । उनले निर्माण व्यवसायिलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए । ‘निर्माण व्यवसायीको आफ्नो ईज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि यो काम समयमा सम्पन्न गर्नुपर्छ’ उनले भने, ‘काम नगरेका कारण सरकारले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छ । त्यसैले समयमा काम सक्नुस ।’

घोराही उपमहानगरपालिका–१३ मा रहेको बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना सञ्चालनमा छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तरगत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माणको काम अघि बढेको हो । नागाअर्जुन÷शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो । बहुउदेश्यीय पार्क अन्तरगत दहको मुल गेट, ड्याम, लगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आएपछि मुख्यमन्त्री र विभागिय मन्त्रीले यस बारेमा गम्भिर चासो दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation