सैनामैना नगरपालिका वडा नं. ७, रूपन्देहीको सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य तथा सल्लाहकारहरूले सैनामैना वडा नम्बर ७ कार्यालयलाई आफ्नो सामूहिक राजीनामा पत्र बुझाउँदै सार्वजनिक जग्गा संरक्षणमा अवरोध पुर्याउने निर्णयको विरोधमा ज्ञापन पत्र पेश गरेका छन ।
सैनामैना नगरपालिकाको कार्तिक ९ गते बसेको कार्यपालिका बैठकले सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको औद्योगिक ग्राम क्षेत्रमा बुटवल गोरुसिङे सडकको सामग्री राख्ने प्रयोजनका लागि जग्गा लिजमा दिने निर्णय गरेको थियो । औद्योगिक ग्राम क्षेत्र समितिका सदस्यहरूले यस निर्णयले स्थानिय जनतामा असर पर्ने जनाउँदै तत्काल निर्णय फिर्ता गर्न वडा कार्यालयलाई आग्रह समेत गरेका छन्।
सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य ठाकुर प्रसादका अनुसार, यस क्षेत्रलाई औद्योगिक ग्रामको रूपमा विकास गर्ने योजना मुताबिक जनताको हितमा नभएर केही व्यक्तिहरूको स्वार्थ पूर्तिका लागि औद्योगिक क्षेत्रमा क्रेसर प्लान्ट राख्ने योजना अघि बढाइएको आरोप लगाएका छन् । उनका अनुसार, यो निर्णय समितिको सहमति बिना पारित गरिएको थियो, जसले गर्दा समितिका सदस्यहरू तथा स्थानीयवासीहरूले यसको विरोध गरेका हुन्।
सदस्यहरूले औद्योगिक ग्राम क्षेत्रमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको ठेकेदारले विभिन्न सामग्री (जस्तो कि गिट्टी, बालुवा) राख्नका लागि जग्गा खोजिरहेको अवस्थामा वडा अध्यक्ष रामकुमार चौधरीले समितिको सहमति विना नै प्रस्ताव पास गराएको आरोप लगाइएको छ। यस निर्णयले स्थानीय जनताको आवाज र मागलाई बेवास्ता गरेको र केही व्यक्तिहरूको स्वार्थमा मात्र केन्द्रित भएकोले यसको अविलम्ब फिर्ता लिनुपर्ने माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सदस्यहरूले आफ्नो राजीनामा पत्र बुझाउँदै निर्णय फिर्ता नलिइएमा स्थानिय जनताले विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।