सैनामैना, १ मंसिर । सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को पहिलो त्रैमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार सैनामैनामा सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सैनामैनाका नागरिकले सैनामैना नगरपालिकाको कामप्रति चर्को असन्तुष्टी जनाएका छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने सहभागी सैनामैनाका सेवाग्राहीहरुले चुनावका बेला जनप्रतिनिधिहरुले जुन बाचा गरेर जनतासंग भोट मागेका थिए, जनप्रतिनिधिहरुले साढे दुई बर्षको बीचमा जनतासंग गरेका बाचा कबुल सवै बिर्सिएको भन्दै आक्रोस पोखेका थिए । सैनामैना नगरपालिकामा बेरुजु फस्र्यौटमा ध्यान नदिएको, पहिलेभन्दा अहिले बेरुजु बढदै गएको, नगरपालिकामा आर्थिक अनियमितता बढेको र इन्धनको ब्यापक दुरुपयोग गरिएको, नगर सुशासनमैत्री हुन नसकेको लगायतका गुनासो सार्वजनिक सुुनुवाईमा ब्यक्त भएको थियो ।
सहभागीहरुले सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुको एकदमै झिनो सहभागिताप्रति पनि प्रश्न उठाएका थिए । सार्वजनिक सुनुवाईजस्तो महत्वपूर्ण कार्यक्रममा जनताको सहभागिता बढाउनु पर्नेमा सीमित भएकोप्रति जनप्रतिनिधिहरुमाथि आशंका उत्पन्न भएको सहभागीहरुको गुनासो थियो ।
सैनामैना नगरपालिकाका वडाहरु समेत सेवाग्राहीमैत्री हुन नसकेको गुनासो सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको छ । नागरिक अभियन्ता तथा संचारकर्मी बिजय सुनारले वडा कार्यालयमा सामान्य सिफारिस बनाउन जाँदा ५ सय ६ सय रुपैया लिने गरिएको र वडामा जाँदा पैसा नतिरिकन सामान्य काम बनाउन नसकिने बताउनुभयो । सेवाग्राहीले कर तिरेपछि सेवा सुविधाको अपेक्षा गरिएपनि वडा नंं ९ को वडा अध्यक्ष भानु पाण्डेले बाहेक अरु वडा अध्यक्षहरुले जनतालाई सेवा दिने नाममा किन सास्ती दिने गरिएको छ भनी प्रश्न गर्नुभयो ।
सार्वजनिक सुनुवाईमा सैनामैनाका सडकको अवस्थामा सुधार नभएको, सैनामैनाका विभिन्न स्थानमा पुल नहुँदा बर्षायाममा नदी वारपार गर्न समस्या भएको, उज्यालो सैनामैना भनेपनि रातीमा बत्तीको व्यवस्था नभएको, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । त्यसैगरी सैनामैनाको वडा नं. ४ मा सामाजिक संस्कार भवन निर्माणमा ढिलासुस्ती भएको, विभिन्न टोलका सडक मर्मतमा समेत ध्यान नदिएको, प्रहरीले पूर्व पश्चिम राजमार्गमा रातीमा मात्रै चेकजाँच गर्ने गरेको लगायतका बिषयमा समेत जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले पछिल्लोसमय जनताका प्रत्यक्ष जीवनसंग जोडिएका कुराहरुमा सैनामैना नगरपालिका उदासिन बन्दै गएको कुरा भन्दै असन्तुष्टी व्यक्त गरिएको थियो ।