माघ २४ बुधबार ।
सैनामैनाको रानिबगिया स्थित श्री सैनामैना सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न भएको छ ।
सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि को आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको कामकारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ ३ दिवसिय कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएको थियो ।
नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति,प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र , मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।
संसदमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समय एवं विशेष समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
यस्तै सासंदहरुले पछिल्लो समय चर्चामा रहेको सामाजिक सञ्जाल विधेयकमा वार्षिक निति तथा कार्यक्रम, बजेट, लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रम समापन समारोहमा प्रमुख अतिथि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले मन्तव्यको क्रममा यनमूना संसद कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै नेपालको संसदमा भएका कमी कम्जोरी हरुलाइ समेत सुधार गरि अझै परिष्कृत रुपमा युवाहरुले यस्ता कार्यक्रमहरु गर्दै जान सुझाव दिनुभयो । साथै वहाँले यस्ता कार्यक्रमहरुले देशको योग्य जनप्रतिनिधि जन्माउने धारणा राख्नुभयो ।
निर्वाण कानूनी समाजका अध्यक्ष विजय सुनारका अनुसार नमूना संसद अभ्यास कार्यक्रममा ३ वटा विधाहरु पुरस्कार स्वरुप राखिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रस्तुति सन्शिला अर्याल, उत्कृष्ट वक्ता विजय रसाइली , उत्कृष्ट अनुसन्धानकर्ता अनिल चौधरीले ले हात पार्न सफल भएका छन् ।
समापन कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिवलाल अर्यालको अध्यक्षता, सैनामैना नगरपालिका उपप्रुमख विना रानाको प्रुमख आतिथ्यता, विद्यालयका प्रधानध्यापक नेत्रलाल पुरीको विशिष्ट आतिथ्यता विद्यालयकी शिक्षिका लता खड्काको सञ्चालनमा सम्पन्न भएको हो
विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब २०० जना विध्यार्थीहरुको सहभागीता एवं विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा सम्पन्न नमुना संसद कार्यक्रम माघ २०, २१ र २३ गते गरि विद्यालयको सभा हलमा सम्पन्न भएको थियो ।