१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना आजबाट प्रारम्भ भएको छ । महत्वकांक्षी बजेट ल्याएर शुरुदेखि नै हरेक सूचकांकमा खराब प्रदर्शन गरेको सरकारलाई चैत यता ‘कोरोना बाहना’ले केही राहत दिएको छ । यो वर्ष सरकारले शूरुको विनियोजन १५ खर्ब ३२ अर्ब ९६ करोडको तुलनामा ३० प्रतिशत कम अर्थातः मात्र १० खर्ब ७३ अर्ब ३५ करोड खर्च गर्ने पछिल्लो संशोधित अनुमान छ ।
यो लक्ष्य भेटाउन समेत असार महिनाभर सरकारले १ खर्ब ९६ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । जस्तै संकटमा पनि बजेट खर्चलाई असार लाग्नैपर्ने प्रवृत्तिबाट यो वर्ष पनि सरकार माथि उठ्न सकेन ।
यद्यपि चैत यता लकडाउनका कारण राजस्व समेत उठाउन नसकेको सरकारले बजेटले संशोधन गरेको तेस्रो लक्ष्यसमेत नभेटाउने निश्चितजस्तै छ । यो तथ्य स्वयम् अर्थमन्त्री डा. युवराज खतिवडाले स्वीकार गरिसकेका छन् । उनका अनुसार जेठ महिनामा मात्र अनिवार्यतर्फ सरकारको दायित्व करीव ४० अर्ब रहेको छ । तर, राजस्वबाट भन्सारबाहेक अन्य कर उठ्न सकेको छैन । यसले सरकारको ब्यालेन्स सीट नै बिग्रिएको छ । पुरै खर्च हुन सक्ने अवस्थामा स्रोतकै समस्या हुने स्थिति बनेको छ ।
दयालाग्दो विकास खर्च
मुलुकको पुँजी निर्माणमा विकास खर्चले मूख्य भूमिका खेल्छ । जसका आधारमा आर्थिक वृद्धि र अन्य सुचकमा समेत सुधार हुन्छ । तर,चालु आवमा सबैभन्दा दयनिय अवस्थामा पूँजिगत खर्च रहृयो । ११ औं महिना (जेठ मसान्त) सकिँदासम्म मात्र १ खर्ब २६ अब ५ करोड रुपैयाँ पूँजिगत खर्च भएको छ । जहाँकी यो वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ पूँजिगत खर्चको लक्ष्य तोकेको थियो ।
११ औं महिनासम्म आइपुग्दा लक्ष्यको मात्र ३१ प्रतिशत मात्र खर्च सम्भव भएको छ । त्यसमाथि सरकारले खर्चमा कैची लगाउने क्रममा ठूलो रकम पूँजिगततर्फकै काटेको छ ।
बजेटले तोकेको तेस्रो संशोधन अनुसार पूँजिगत खर्च २ खर्ब ३९ अर्ब ९ करोड अर्थातः शूरु विनियोजनको मात्र ५८.६ प्रतिशत सम्म मात्र पुर्याउने लक्ष्य रहेको छ । यो लक्ष्य भेटाउन समेत अब सरकारले एक महिनामा १ खर्ब १३ अर्ब ४ करोड रुपैयाँ खर्च गर्नुपर्छ । अर्थात् आजका दिनबाट प्रतिदिन ३ अर्ब ७६ करोड रुपैयाँ विकास खर्च हुँदामात्र बजेटले लिएको तेस्रो संशोधनसम्मको लक्ष्य प्राप्त हुन्छ ।
कोरोना प्रभाव
चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनासम्म विकास निर्माणमा गति लिन नसकेको परिणाम त्यसपछिको दिनमा देखिएको छ । किनकी चैतपछि लकडाउनका कारण काम नै ठप्प भयो । नेपालमा विकास निर्माणको बढी चटारो हुने समय नै चैत-असार हो ।
ठेक्कापट्टासमेत करिव करिव पुरै लाग्नै नपाई शुरु भएको कोरोनाले यस वर्ष समग्र खर्चमा प्रभाव पारेको अर्थ मन्त्रालयको भनाइ छ । त्यसमाथि बजेटको प्रारम्भिक विनियोजनका लक्ष्यहरु अन्तिममा आएर परिवर्तन गर्नुपरेको छ । स्वास्थ्य र सुरक्षामा बढी रकम विनियोजन, थप निकासा तथा रकमान्तर गर्नुपर्दा पनि विकास बजेटमाथि चाप परेको हो । र, पनि कतिपय आयोजनामा असारमै भएपनि काम भइरहेको छ ।
यस्तो छ ११ महिनाको बजेट खर्च
खर्च | विनियोजित लक्ष्य | अर्धवाषिर्क संशोधित लक्ष्य | बजेटले गरेको संशोधन | ११ महिनाको उपलब्धी | विनियोजन तुलनामा खर्च प्रतिशत |
चालु | ९ खर्ब ५७ अर्ब १० करोड | ९ खर्ब ४ अर्ब ४६ करोड | ७ खर्ब १ अर्ब ५५ करोड | ६ खर्ब ७० अर्ब ५१ करोड | ७०.०६ |
पुँजीगत | ४ खर्ब ८ अर्ब | ३ खर्ब २६ अर्ब ८१ करोड | २ खर्ब ३९ अर्ब ९ करोड | १ खर्ब २६ अर्ब ५ करोड | ३०.९० |
वित्तीय व्यवस्था | १ खर्ब ६७ अर्ब ८५ करोड | १ खर्ब ५४ अर्ब ६९ करोड | १ खर्ब ३२ अर्ब २६ करोड | ८६ अर्ब २० करोड | ५१.३६ |
कुल | १५ खर्ब ३२ अर्ब ९६ करोड | १३ खर्ब १५ अर्ब १६ करोड | १० खर्ब ७३ अर्ब ३५ करोड | ७ खर्ब ६० अर्ब ४७ करोड | ६०.०८ |
स्रोतः महालेखा नियन्त्रक कार्यालय
राजस्व संकलन नराम्ररी प्रभावित
महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष सरकारको खर्चमात्र नभई राजस्व संकलनमा समेत झन ठूलो खाडल छ । सरकारले यस वर्ष कूल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो । चालु आवको ११ महिना बितिसक्दा लक्ष्यको ५८.२५ प्रतिशत राजस्व उठ्न सकेको छ । यसअवधिमा ६ खर्ब ४७ अर्ब ७९ रुपैयाँ मात्र राजस्व संकलन भएको हो ।