घेराबन्दीमा नेपाल: अन्तर्राष्ट्रिय कानुन विपरित ‘नहर’ को निर्माण

राम बिकास चौधरी /भैरहवा– नेपाल भारत सीमा नजिकै भारतले ठूलो क्षमताको सिंचाई नहर निर्माण गर्न थालेपछि सीमावर्ती क्षेत्रका नेपाली भू–भाग डुबानमा पर्ने जोखिम बढेको छ । चर्चित एवम् ठुला नदीमा चिनिने सरयु नदीको पानी प्रयोग गरी विभिन्न ८ वटा जिल्लाहरुमा सिंचाई पुर्याउने उदेश्यले भारतले बनाउन लागेको उक्त सिंचाई नहर परियोजनाका कारण नेपाली सीमावर्ती क्षेत्रका ठूलो हिस्सा डुबानमा पर्ने जोखिम बढेको हो ।
भारतको बलमिच्याईका कारण पटकपटक डुबानको कहर झेल्दै आएको नेपाली सीमावर्ती नागरिकहरुमा पुनः चिन्ता थपिएको छ । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवकुमार यादव भन्छन्, ‘हजारौ बिघा क्षेत्रको पानीको निकास रहेको एक मात्र कुलो भारतको निर्माणाधीन नहरले थुनिने छ ।’ यो वर्ष पानीको बहाव नेपालतर्फ नै रोकिने र डुबानमा पर्नेमा उनको चिन्ता छ ।
वडाध्यक्ष यादवका अनुसार सम्मरीमाईको सीमावर्ती गाउँ वडा नं. १ र २ को मुडिला, बनगाई, मझगावा, बरवासे र करौता बाढीको उच्च जोखिममा रहेका छन् । उनले वर्षात नजिकिदै जादा चिन्ता बढेको बताउँदै पानी निकासको यथाशीघ्र व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरे । भारतले सरयु नहर परियोजना सरयु नदीबाट उत्पन्न गराई सीमाको समानान्तर रुपमा भारतका ८ जिल्लालाई पर्याप्त पानी पुग्ने गरी १४ लाख हेक्टेर क्षमताको नहर निर्माणाधिन अवस्थामा रहेको छ ।
पुर्वाञ्चलका गोण्डा, बलरामपुर, श्रावस्ती, बहराइच, सन्तकबीरनगर, बस्ती, सिद्धार्थनगर, गोरखपुर र महराजगञ्ज जिल्लाका किसानलाई पर्याप्त पानी पुग्ने योजनाका साथ यस नहरलाइ मुर्तरुप दिने काम भइरहेको छ । भारतका थुप्रै योजनाहरुमध्ये दीर्घकालीन योजनाको रुपमा यो योजना ४० वर्षअघि ईस १९७८ मा आरम्भ गरिएको थियो । यो योजना सफल भए भारतीय सीमावर्ती किसानका लागि वरदान सावित हुनेछ तर नेपाली सीमावर्ती किसानका लागि अभिशाप हुनेछ । भारत सरकारले नहर बनाउँदै गर्दा नेपाली किसानमा भने त्रास बढाएको छ । सीमामा बसेका नेपाली किसान जोखिममा परेका छन् । भारतको नहर निर्माणले तराईका सीमावर्ती भूभाग डुबानको जोखिममा परेको छ । अहिले समाधानको खोजी गरिन थालिएको छ । आफ्नो भूमिमा बाढी र खडेरी नियन्त्रणका लागि भन्दै भारतले पूर्व-पश्चिम लामो नहर निर्माण थालेको हो । नेपाली सीमा नजिकैबाट निर्माण भइरहेको नहरले वर्षयाममा पानीको बहाव रोकिएर नेपालमा डुबानको समस्या हुने स्थानीयको दाबी छ । यसअघि खुर्द–लोटन बाँधबाट समेत रुपन्देहीको मर्चवारमा डुवानको समस्या देखिएको थियो । करिब पन्ध्र वर्ष पहिला बनाएको बाँधले केही भारतीय भूमि समेत डुबाउने देखेपछि गरिएको जल निकासको प्रबन्धले समस्या बिकराल हुन पाएन । सोही शैलीमा भारतीय सीमा सुरक्षा बल एसएसबीको पनि नेपाली सीमा नजिकैबाट बाटो बनाउने काम सुचारु छ ।

अन्तर्राष्ट्रिय कानुन लत्याउँदै भारतः 
अन्तर्राष्ट्रिय सीमाना दशगजादेखि ८ किलो मिटरभित्र नदी नालाको प्राकृतिक बहाव र मानवीय असर पुग्ने कुनै पनि भौतिक संरचना बनाउन पाईंदैन् । बनाउनै परे दुबै देशको सहमति आवश्यक छ । सीमामा बाँध बनाएका कारण यसअघि लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध, गण्डक नदीको डुबान र कटानका कारण नेपाली नागरिक वर्षैंदेखि सास्ती भोग्न बाध्य रहेको नदी अधिकार मञ्च साउथ एशिया कमिटिका अध्यक्ष वृजराज कुशवाहा बताउँछन् । कुशवाहा भन्छन्, ‘अन्तरदेशिय सीमा सम्बन्ध राख्ने जुनसुकै निर्माण गर्नुपर्दा छिमेकी मुलुकसित परामर्श गरिनुपर्छ । परामर्श नगरे नदीको अग्रिम अधिकारको लागि नागरिक वा सरकारले माग राख्न सक्छ ।’ नेपाल-भारत सीमाना दशगजाबाट बढीमा एकदेखि तीन किलोमीटरको दूरीमा जमीनबाट दश फिट उचाईदेखिने सो नहर करिब दश फिट गहिरो खनेको देखिन्छ ।भारतीय सुत्रका अनुसार उक्त नहर निर्माण गर्नुको प्रमुख उदेश्य सिंचाईलगायत सीमा सुरक्षा र शैन्य उपकरण ढुवानी गर्नु रहेको छ । नहरका दुबै पेटीमा ठुल्ठुला सडक हुने बताइएको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ । नेपालबाट बग्ने स–साना कुलो र नालाको लागि नहरमा निकासको ब्यवस्था छैन । बिचमा पर्ने ठुल्ठुला नदीहरुमा सुरुङ बनाई पार गर्ने योजना रहेको देखिन्छ ।यसले नदीको मुहान साँगुरिने र कुला-नाला थुनिने भएर नेपालको जमिन डुबानपर्ने संचारकर्मी सिताराम चौधरीको भनाई छ । सरयु कैनल परियोजना अन्तर्गत भारतले उक्त नहरको निर्माण कार्य तीब्र पारेको छ । सरयु नदीको पानी डाईभर्ट गरेर नहर संचालन हुने बताइन्छ । सरयु नदी भारतको अयोध्या हुँदै पूर्ब गंगामा मिसेको छ । नहरलाई समेत गंगामा मिसाउने योजना रहेको भारतीय जानकारहरु बताउँछन् । सरयु नदी काली नदीको मुख्य सहायक नदी हो । सारमूल उद्गमस्थल भएको सरयु कपकोट, बागकोट, बागेश्वर, सेराघाट र रामेश्वर हुँदै नेपाली सीमा पंचेश्वरमा पुगेर काली नदीमा बिलिन हुन्छ । यही काली नदी बहराइच नजिक ब्रह्माघाट पुगेर घाघरामा मिसेपछि पुनः सरयु नामले चिनिन्छ । आफ्नो विपत पन्छ्याउन नेपाललाई जोखिममा पार्नु न्यायोचित नरहेको विपत ब्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले बताए । नेपाल सरकारले तर्क संगत अडान राखे समस्याको समाधान सम्भव रहेकाले उक्त नहरको निर्माण कार्य तत्काल रोक्न न्यायिक कदम चाल्नुपर्ने उनको तर्क छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation