‘पहिला अध्यक्षज्यूसँग बोल्न डर लाग्थ्यो, अहिले त झगडा गर्न पनि सक्छु’

२५ वर्षअघि मीना सुनारको एसएलसी परीक्षा सकिएको थियो। उनले  एनजिओमा काम थालेकी थिइन्।

कामकै शिलशिलामा एकदिन उनी बन्दीपोखराको घरबाट पाँच घन्टा टाढाको भालुवन पुगिन्।

भालुवनमा उनको सिकाइ र प्रस्तुति देखेर सबै जना दङ्ग परे। एक जनाले त उनलाई मानसम्मानका साथ घरभित्र लगे र मीठो परिकार खुवाए। मायाले दिएपछि उनले पनि मीठो मानेर खाइन्।

कार्यक्रमकै क्रममा उनको भेट बिहे गरेर गएकी आएकी गाउँले बहिनीसँग भयो। उनीहरूले सञ्चो बिसञ्चोका कुरा गरे। छुट्टिए।

भालुवनमा बसुन्जेल उनलाई कसैले केही भनेन।

उनी गइसकेपछि ती बहिनीले उनको जात बारे खुलाइदिइछन्। त्यसपछि त्यो घरकाले दलित छिर्‍यो भनेर छानो च्यातेर घाम छिराए, छ्याङको भाँडो नै खाली गरे।

‘मलाई सबैले क्षेत्री भन्ठान्नुभएको रहेछ। ती बहिनीले ऊ त दलित हो नि भन्नुभएछ,’ मीनाले साढे दुई दशक पुरानाको घटना सम्झिइन्, ‘उहाँहरूले घर चोख्याउन छानो च्यातेको र छोइएको खानेकुरा फ्याकेको कुरा मैले पछि थाहा पाएँ।’

त्यस समयलाई फर्केर हेर्दा अहिले उनलाई दु:ख लाग्छ। त्यस्तो घटना आज हुँदो हो त उनी प्रतिवाद गर्थिन्। त्यतिबेला कलिलै भएको र परिवारले पनि यो कुरा नबढाउन भनेपछि कुरा त्यतिमै सीमित छाडिन्।

मीनाको आफू दलित भएकै कारण विभेद भोगेको यो पहिलो घटना थियो। उनले भोग्नु परेको त्यो समय र आजको समाजमा धेरै परिवर्तन आइसकेको छ जसरी उनको जीवन परिवर्तन भएको छ। छोरीबाट बुहारी अनि आमनागरिकबाट उनी अहिले जनप्रतिनिधि बनेकी छन्।

२०३० सालमा पाल्पाको बन्दीपोखरा गाविसमा जन्मिएकी मीना ९ सन्तानमध्ये जेठी हुन्। उनले एसएलसीसम्म अध्ययन गरिन्। त्यो बेला एसएलसीसम्म पढ्नु नै ठूलो कुरा थियो। त्यसपछि एनजिओमा लागिन्। २०५३ सालमा उनको विवाह काठमाडौं नक्सालका गणेश सुनारसँग भयो।

विवाह भएको एक दशकसम्म उनी घरबाहिर निस्किइनन्। उनलाई बाहिरी दुनियाँसँग मतलब पनि थिएन। एक छोरा र एक छोरी अनि परिवारको हेरचाहमै व्यस्त भइन्।

२०६३ सालमा उनी स्वंयसेविका बनिन्। वडाभित्र महिला तथा बालबालिकाका स्वास्थ्यसम्बन्धी काम मात्रै गरिनन्, महिला समूह गठन गरेर उनीहरूलाई सशक्त बनाउन अग्रसर भइन्। जोडिएको घरमा बसे पनि चिनजान नै नहुने काठमाडौंका बस्तीमा उनले आफ्नो टोलमा एकअर्काबीच परिवारका सदस्यजस्तै वातावरण बनाइन्।

मीनाका श्रीमान पहिलादेखि नै कांग्रेसमा लागेका थिए। २०७० सालमा मीनाले पनि पार्टी सदस्यता लिइन्।

०७४ सालमा स्थानीय चुनाव हुने भयो। वडा सदस्यका लागि उनका श्रीमानले मात्रै होइन छर-छिमेकलगायत वडावासीले नै उनलाई चुनावमा उठ्न सुझाव दिए।

‘म आज जहाँ छु, त्यो उहाँहरूको माया र सल्लाहले हो,’ मीनाले भनिन्, ‘चुनावको समयमा मलाई उठ्नुपर्छ, हामी साथमा छौँ भनेर यहाँका आमा, दिदी, बहिनीहरूले नै हौसला दिनुभएको हो।’

दलितले पढ्न हुन्न भन्ने नेपाली समाजबाट आज नेतृत्व तहमा कानुनले नै खुला रूपमा स्वागत गरेको छ। जसको प्रतिनिधि मीना स्वंय हुन्। सरकारले नै दलित समुदाय त्यसमा महिलालाई प्राथमिकता दिएकोप्रति उनी सकारात्मक छिन्।

‘राजनीतिमा हामीलाई समावेश गर्ने कुरा साँच्चै नै सकारात्मक छ। यसले राजनीतिमा अझ अगाडि बढ्न प्रेरणा दिएको छ,’ उनले भनिन्, ‘यो हामी अरूभन्दा फरक होइनौं है भनेर देखाउने एउटा अवसर पनि हो।’

जनप्रतिनिधि भएको साढे दुई वर्षको अनुभवका आधारमा  आफूले राजनीतिमा योगदान दिनसक्ने लागेको उनले बताइन्। तर जातीय विभेदका विषयमा जन्मजातदेखिकै सोच र प्रवृत्तिमा भने मानिसमा परिवर्तन नआएको उनको बुझाइ छ।

‘मानिसहरू सिधै भेदभाव गर्दैनन्। सबैलाई भनेको होइन तर अझ पनि पुरानो मानसिकताबाट उनीहरू निस्किसकेका पनि छैनन्,’ उनले भनिन्, ‘हामीले राम्रो काम गरे पनि त्यसलाई स्वीकार्न गाह्रो मान्छन्।’

विशेषगरी कार्यालयमा काम गर्न खोज्दा मुखले ठिक्क पारे पनि आफूले लगेको कार्यक्रम तथा कामको वेवास्ता गर्ने परिपाटी रहेको उनको अनुभव छ।

‘म दलित भएर हो की महिला भएर हो वा के कारणले त बुझ्न सकेको छैन। तर जति वडावासीले मलाई विश्वास गरेर हौसला दिनुहुन्छ त्यति नै कार्यालयमा सहजै काम गर्न दिइँदैन,’ उनले भनिन्।

यसबाट उनी विचलित भने भएकी छैनन्।

‘म त सत्यका लागि लड्छु। आफ्नो अधिकार लिन्छु,’ उनले भनिन्।

जातीयताकै आधारमा हेप्न खोज्नेको प्रतिकार र आफ्ना अगाडि भइरहेका नराम्रा गतिविधिको विरोध गर्न पछि नहट्ने उनको भनाइ छ।

वडा कार्यलयका बेथितिबारे एउटा टेलिभिजन कार्यक्रममा बोलेपछि वडाका कर्मचारी आफूबाट टाढै बस्ने गरेको उनले बताइन्।

‘वडालाई हितमा हुने काममा बाधा गर्दिनँ र आफ्नोअगाडि भएको गलत कार्य पनि हेरेरै बस्दिनँ,’ उनले भनिन्, ‘मिटिङ नै नभई वडा कार्यालयमा भत्ता बुझ्नेबारे टेलिभिजनमै मैले भनिदिएपछि कार्यालयका केही साथीहरू मेरो अगाडि सकभर केही बोलिहाल्नु हुँदैन।’

***

अम्बिका सुनारलाई २०७३ चैतमा एक दिन अपरिचित नम्बरबाट फोन आयो। नचिनेको नम्बर सुरूमा उनले उठाइनन्। बारम्बर घन्टी बजे पनि वास्ता गरिनन्। राति पनि सोही नम्बरबाट बारम्बार फोन आएपछि चिनेको कसैले पो गरेको हो कि भनेर उठाइन्।

फोन निवर्तमान वडाध्यक्षले गरेका रहेछन्। उनले अम्बिकालाई दलिततर्फ वडा सदस्य उठ्न प्रस्ताव गरे।

नेता बन्ने सपनासमेत नदेखेकी अम्बिकाको बाटो त्यही फोनले बदलिदियो।

‘मैले नेता बन्छु भनेर कहिल्यै सोचेकी थिइनँ। वडाध्यक्षज्यूले फोन गरेर यसबारे बुझाएपछि चुनावका लागि तयार भएकी थिएँ,’ उनले भनिन्।

उनी काठमाडौं महानगरपालिका वडा नम्बर १८ की सदस्य बनिन्।

गोरखामा जन्मेकी अम्बिकालाई गाउँमा हुँदा सानैदेखि दु:ख थियो। काममै व्यस्त हुन्थिन्। विवाह नजिकैको गाउँमा भयो। त्यहाँ पनि घर गृहस्थी कामले अरू कार्य गर्न भ्याइनन्।

२३ वर्षअघि उनी श्रीमानसँगै काठमाडौं आइन्। काठमाडौंमा उनलाई कामको त्यति चटारो भएन तर फुर्सद पनि भएन।

श्रीमान सुरूमा सुन पसलमा काम गर्थे। पछि आफ्नै पसल किने। अम्बिकालाई कोठाबाहिर निस्कन पर्दैनथ्यो। रासनपानीदेखि लत्ताकपडा सबै श्रीमानले नै किनिदिन्थे। उनको चार सन्तानको हेरचाहमै दिन बित्थ्यो।

समय सधैं उस्तै कहाँ हुन्छ र! राम्रै आम्दानी गरेर परिवारका आवश्यकता पूरा गरिरहेका उनका श्रीमानको १० वर्षअघि हृदयघातबाट मृत्यु भयो। त्यो अम्बिकाका लागि निकै कठिन थियो।

एकातिर आफू बसेको ठाउँबारे त्यति जानकार थिइनन्। चार छोराछोरीको लालनपालन गर्नु थियो, व्यवसायबारे केही नजानेकी उनले पसल सम्हाल्नु थियो, श्रीमानले व्यवसाय गर्दा उधारोमा लिएका ग्राहक अनजान थिए, पसलकै लागि लिएको ऋण तिर्नु थियो।

‘श्रीमान् भइञ्जेल मैले केही गर्नै परेन। कतै जानु परेन, तरकारी पसलसमेत देखेकी थिइनँ। सबै उहाँले नै किनेर ल्याइदिनु हुन्थ्यो,’ उनले विगतलाई सम्झिइन्, ‘त्यसपछि नै हो म घरबाट बाहिर निस्केर सबै व्यवहारिक काम गर्न सिकेको।’

उनले छोराछोरी पढाइन्। श्रीमानले लिएको ऋण तिरिन् तर उनै श्रीमानले बनाइदिएको घर बचाउन सकिनन्। घरबाट भाडाको घरमा आइपुगिन्। चुनावको समय उनले घर बेचेको त्यस्तै दुई वर्ष जति भएको थियो। चुनावमा लड्न त परको कुरा उनी भोट दिन नि पाउला कि नपाउला भन्ने दोधारमा थिइन्।

‘मलाई भोट हाल्न एकदम मन थियो। घर बेचेपछि दिन पाउला कि नपाउला भन्ने थियो। तर चुनावमा आफैं उम्मेदवार बन्ने अवसर मिल्यो,’ उनले भनिन्।

चुनाव लड्ने कुराले उनी सुरूमा डराएकी थिइन्। तर घरबाट बाहिर निस्केर व्यवहार चलाइन् चलाएको अनुभवले उनलाई राजनीति पनि गर्न सक्छु भन्ने हिम्मत आयो।

‘सबै कुरा सबैलाई थाहा हुँदैन। जसरी संघर्ष गरेरै जिउन सिके, राजनीति पनि सिक्दै छु। बिस्तारै जानिहालिन्छ नि,’ उनले भनिन्।

उमेर चार दशक कटेपछि राजनीति सुरू गरेकी उनलाई नौलो अनुभव रमाइलो लागि रहेको छ। जिम्मेवारी पहिलाभन्दा बढे पनि गर्नसक्छु भन्ने आँट झन् बढेको उनले सुनाइन्।

‘मौका पाए भने आगामी दिनमा पनि राजनीतिमा लाग्छु। धेरै कुरा सिकिने रहेछ,’ उनले भनिन्।

उनी कार्यालयमा दिएको काम गर्छिन्। मीनाले भनेजस्तै अम्बिकाले पनि आफूलाई कार्यालयमा सिधै विभेद नगरे पनि कहिकतै चाहिँ महशुस गर्ने बताइन्।

‘तँ यो भनेर त सिधै कसैले पनि भन्दैन तर कहिलेकाहीँ नभने पनि विभेद गरेको अनुभव हुन्छ,’ उनले भनिन्।

***

काठमाडौं महानगरपालिकामा दलित महिला वडासदस्य निर्वाचित अर्की प्रतिनिधि हुन्, निर्मला बोगटी। ४१ वर्षअघि काठमाडौंको चोभारमा जन्मेकी उनले एसएलसीसम्म अध्ययन गरिन्। त्यसलगत्तै उनको विवाह भयो। त्यतिबेला उनी १६ वर्षकी मात्र थिइन्।  

विवाहपछि बच्चा भए। घर व्यवहारले दायाँबायाँ सोच्ने र केही गर्ने मौका पाइनन्। छोराछोरी ठूला भएपछि फुर्सदको सास फेर्न पाइन्। अहिले उनकी जेठी छोरी मास्टर र छोरा १२ कक्षामा अध्ययन गर्दैछन्।

गत स्थानीय तहको चुनावमा दलित महिला सदस्यकी उम्मेदवारको खोजी सुरू भयो। उनका जेठाजुले चुनाव लड्न सल्लाह दिए। उनी उठिन् र वडा नम्बर २६ को दलित महिला सदस्य बनिन्।

‘बुहारी थिएँ। घरतिरकै काममा व्यस्त भइयो। राजनीतिबारे बुझिएन त्यसैले सुरूका दिनमा काम गर्न अप्ठ्यारो भयो,’ निर्वाचित भएपछिको अनुभव उनले सेतोपाटीसँग साटिन्।

मन्छेसँग भेटघाट, बोल्न डराउने उनी अहिले अरूसँग मजाले बोल्न सक्ने भएकी छन्। सङ्कुचित वातावरणमा हुर्केकी उनी अब खुल्न थालेकी छिन्। राजनीतिकै कारण यो सम्भव भएको उनलाई लाग्छ।

‘मलाई वडाध्यक्षज्यूसँग समेत बोल्न डर लाग्थ्यो पहिला। अहिले त सिधै बोल्न र परे झगडा पनि गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘मैले राजनीतिमा लागेपछि आफैंमा धेरै परिवर्तन महशुस गरेको छु। यो मेरो लागि अवसरको रूपमा आएको छ।’

निर्मलालाई जातीयताकै आधारमा भेदभाव गरेको अनुभव छैन। कार्यालयमा पनि कर्मचारीहरूले सहयोग गर्छन्। तर सबै उस्तै नहुने उनले बताइन्।

‘आफू घुलमिल भएर होला कर्मचारीसँग राम्रै छ तर कोहीकोहीले चाहिँ यो वडा नआइदिए हुन्थ्यो, यसलाई यो थाहा नभएहुन्थ्यो, यसले गरेको काम मैले गर्न पाए हुन्थ्यो भन्ने पनि छन्,’ उनले भनिन्।

राजनीतिमा लागेपछि उनले यसबारे जानेका र नजानेकाबीच फरक व्यवहार हुने गरेको महशुस गरेकी छिन्। सबभन्दा महत्वपूर्ण कुरा भर्खर राजनीतिमा लागेका आफूहरू जस्तालाई समर्थन र सहयोग नभएको उनको गुनासो छ।

‘भर्खर लागेको मान्छे। गाह्रो छ कि के छ भन्ने कुरा माथिबाट बुझिदिने गर्नुभयो भने राम्रो हुन्थ्यो। गर्नेले गर्छ नगर्नेले त्यत्तिकै बस्छ,’ उनले भनिन्, ‘आफैंले कार्यक्रम लग्दा पनि यसले के जानेकी छ र भनेर नहेरिदिने हुन्छ।’

नयाँले के जानेका छन्, जानेको छ कि छैन भनेर पार्टी तथा आफूभन्दा माथिल्लो तहकाले नबुझाउदा काम गर्न गाह्रो हुने उनले बताइन्।

‘यसलाई सपोर्ट गरेर आफू सँगसँगै लैजाऔं, यसरी गरौं भनेर सिकाऔं भन्ने भए, मन्त्रालयमा पनि लैजाने गर्‍यो भने सिक्थ्यौँ। नत्र त वडामा मात्रै सीमित हुन्छ कामचाहिँ केही आउदैनौँ,’ उनले भनिन्।

निर्मलालाई सुरूमा आफू निर्वाचित भएर जाँदा दलित कोटा पूरा गर्न मात्रै आफूलाई लिएको लाग्यो। काम गर्न केही नपाउने थियो। दुई वर्षअघिसम्म पनि उनी डराउथिन्। कार्यक्रम, मिटिङमा जाने, धेरैभन्दा धेरै मान्छेसँग भेट्न थालेपछि सहज हुन थाल्यो। बिस्तारै राजनीतिबारे बुझ्न थालिन्।

‘अहिले पनि मलाई धेरै आउँछ भन्ने होइन। तर गर्दै छु, सिक्दै छु, राम्रै लागिरहेको छ,’ उनले भनिन्, ‘राजनीतिबारे जानेर सिकेर आएको भए त उपमेयर नै हाँक्थे जस्तो लाग्छ।’

जति नै चुनौतीपूर्ण भए पनि उनी राजनीतिप्रति सकरात्मक छिन्। यसमा लागेपछि उनलाई छाडी हाल्ने विचार छैन।

‘राजनीतिलाई छोड्ने विचार छैन। हुन त राजनीतिमै भइरहन्छ भन्ने हुँदैन, नरहे पनि काम परेको बेला वडाका दिदीभाइ दाजुबहिनीलाई मैले गर्न सक्ने सहयोग गर्छु,’ उनले भनिन्।

***

राजलक्ष्मी भुसाल काठमाडौं वडा नम्बर ८ की सदस्य हुन्। दलित कोटाबाटै निर्वाचित भएकी उनको पनि राजनीतिमा पहिलो अनुभव हो।

२०३६ सालमा कीर्तिपुरमा जन्मिएकी उनले कक्षा सातसम्म मात्रै पढिन्।

त्यसपछि सिलाइकटाइको काम सुरू गरिन्। २०५७ सालमा विवाह भएपछि पनि उनले कामलाई निरन्तरा दिइन्।

२०७४ को स्थानीय चुनावमा उनका एक दाइले उठ्न सुझाव दिएपछि सासुससुराको समर्थनमा उनी कांग्रेसका तर्फबाट वडा सदस्य उठिन् र जितन्। राजनीतिक यात्रा उनका लागि नौलो थियो तर कार्यालयमा सबै सहयोग गर्ने भएकाले सहज भएको उनले बताइन।

‘पहिलो पटक राजनीतिमा आएको हुँ। काम सिक्दै छु,’ उनले भनिन्, ‘वडाध्यक्षदेखि सबै कर्मचारीले सपोर्ट गर्नुहुन्छ।’

उनी दिएको काम सक्दो गर्ने प्रयास गर्छिन्। काम गर्न गाह्रो भए पनि काम गर्न असहज वातावरण भने नभएको उनको दाबी छ। एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति नभएका कारण पनि काम गर्न सजिलो भएको उनको भनाइ छ।

पहिला घरको र पसलको काममा व्यस्त हुने उनी बाहिर मान्छेसँग त्यति घुलमिल हुन्नथिइन्। जनप्रतिनिधि भइसकेपछि धेरैथरिका मान्छेहरूसँग भेट हुने र कार्यक्रममा गइरहने भएकाले उनलाई पहिलाभन्दा अहिलेको जीवन नै रमाइलो लाग्छ।

‘पहिला घरभित्रै बस्यो, धेरै समय पसलमा आफ्नै काममा व्यस्त भइन्थ्यो कसैसँग चिनजान नहुने। अगाडि घरकै मान्छे चिनेको हुन्नथ्यो,’ उनले भने, ‘अहिले माथिल्लो तहका मान्छेलाई चिनियो अनि मिटिङ, कार्यक्रममा सहभागी भएर धेरै कुरा सिकियो पनि।’

राजनीतिमा लागिसकेपछि उनलाई यताउति हिँड्ने बानी भइसक्यो।

‘अब त घरमा बस्न सक्दिनँ होला। कार्यक्रममा जाने, मान्छेहरूलाई भेट्ने सिक्ने/ सिकाउने कामलाई नै अगाडि बढाउँछु,’ उनले भनिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation