संसद् विघटनविरुद्ध सडक–संघर्षमा उत्रिएको नेकपाका नेताहरूले संविधानको पक्षमा जस्तोसुकै संघर्षका लागि तयार भएको सन्देश दिएका छन् । समयमै नसच्चिए वैशाखपछि नेपालको राजनीतिक इतिहासमा ओलीको पत्तासाफ हुने सो समूहका नेताहरूको दाबी छ ।
मंगलबार राजधानीमा भएको विरोध कार्यक्रममा नेताहरूले संसद् पुनस्र्थापना नभई चुनावै भए पनि अर्को प्रधानमन्त्रीले फेरि पनि प्रतिनिधिसभा भंग गर्ने नजिर बस्ने र त्यसले मुलुक लामो समयसम्म अस्थिरताकै दुष्चक्रमा फस्ने जिकिर गरेका छन् । विरोध सभामा नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैली, स्वभाव र चरित्रलाई लिएर पनि अनेकौँ आरोप लगाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखपछि ओली प्रधानमन्त्री नै नरहने दाबी गरे । ‘कतिपय मानिसले कम्युनिस्ट पार्टी विभाजित भएको र मध्यावधि भइहाल्यो भने चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेका छन् । यो उनीहरूको दुस्वप्न हो । हुनेवाला चुनाव घोषणा भएकै होइन, चुनाव त हुँदैन । जबर्जस्ती लैजाने भन्ने छ उहाँहरूको योजना,’ उनले भने, ‘मलाई लाग्छ, ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेवाला छ । अनि उनले नै कतै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ?’
प्रतिनिधिसभा पुनस्र्थापना नभए अर्को प्रधानमन्त्रीलाई भंग गर्ने नजिर
प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना नभएर चुनावै भए पनि अर्को प्रधानमन्त्रीले फेरि पनि प्रतिनिधिसभा भंग गर्ने नजिर बस्ने र त्यसले मुलुक लामो समयसम्म अस्थिरताकै दुष्चक्रमा फस्ने बताए ।
‘संविधान बचाइयो भने पो चुनाव पनि जितिएला, प्रतिनिधिसभा पुनस्र्थापना नभए संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, शान्ति, देशै धरापमा जान्छ । यो त सजिलै बुझिन्छ । पहिला त चुनाव नै हुँदैन । मानिलिनुस्, हुने भयो रे, वैशाखमा त हुँदै हुँदैन । मंसिरमा, अर्को वैशाखमा भयो रे, तर चुनावबाट आउने अर्को प्रधानमन्त्रीले पनि संसद् भंग गरिदिन्छ । नजिर त बस्ने नै भो, अनि नेपाली जनताको, देशको भाग्य र भविष्य के हुन्छ ?’ उनले भने ।
अर्को प्रसंगमा उनले संविधानमै नभएको व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटन गरिएकाले सदन जीवित रहेको, तर ओली सरकार मात्र भंग भएको दाबीसमेत गरे । ‘संविधानको व्यवस्थामा धारा ७६ अनुसार चौथो विकल्प पनि भएन भने मात्र विघटनको स्थिति आउँछ । तर, अहिले हुँदै नभएको अधिकार, व्यवस्था प्रयोग गरेर सदन विघटन गलत छ । त्यसैले सदन भंग भएको छैन, जीवित छ,’ उनले भने, ‘भंग भएको ओलीको सरकार हो । उनले संसद् भंग गरेर इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कलंकको टीका कहिल्यै मेटिने छैन । माफी नमागेसम्म नेपाली जनताले माफी दिने छैनन् ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानविरुद्ध अभियान चलाएर नियोजित रूपमा ओलीले प्रतिनिधिसभा विघटन गरेको र त्यस्तो प्रतिक्रान्तिकारी कदम रोक्ने शक्ति सार्वभौम जनतामा रहेको जिकिर पनि गरे । ‘संविधानको प्रस्तावनामा पहिलोपटक सम्पूर्ण रूपमा सार्वभौम जनता लेखेका छौँ । त्यसैले हाम्रो पार्टीले प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्ने तागत नेपाली जनतामा मात्र रहेको निष्कर्ष निकालेको छ । अब सार्वभौम जनतामा जानुबाहेक कुनै विकल्प रहेन । ७२ वर्ष लडेर प्राप्त अधिकारलाई दुईजनाले कुल्चिन मिल्छ ?’ प्रचण्डले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीमाथि प्रहार गरे ।
अदालतसँग भन्दा जनतासँग ठूलो भरोसा
प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याउने भरोसा रहे पनि त्यसभन्दा ठूलो भरोसा भने सार्वभौम जनतालाई गरिरहेको बताए । ‘अदालतलाई सम्मान नै गर्ने हो, हामी आशा गर्छौँ, छिटोभन्दा छिटो अलोकतान्त्रिक कदम सच्याउनेछ । तर, सबभन्दा ठूलो भरोसाचाहिँ नेपाली जनतामै हो । त्यसकारण हामी आन्दोलनको अभियानमा छौँ ।’
प्रचण्डले मंगलबारको प्रदर्शन अदालतलाई समेत सहजीकरण गर्नका लागि भएको बताए । ‘म भरोसा व्यक्त गर्दछु, सर्वोच्चले संविधानको भावना र मर्म बुझ्दैन भनेर सोच्न पनि सक्दिनँ । तमाम बुद्धिजीवी र सबै राजनीतिक दलको भावनाविरुद्ध जान्छ भन्ने सोच्न पनि सक्दिनँ । केही असहज छ भने सर्वोच्चका लागि सहजीकरणका लागि आजको प्रदर्शन हो भन्ने बुझिदिन अनुरोध गर्छु,’ उनको भनाइ थियो ।
आन्दोलन भातख्वाउरे, आँधी–हुरी त बाँकी नै छ
उनले प्रतिनिधिसभा तत्काल पुनस्र्थापना नगरिए तत्कालीन राजा ज्ञानेन्द्रलाई जस्तै ओलीलाई पनि बढार्ने चेतावनी दिए । ‘संविधानमाथिको निर्मम प्रहार सच्याउने कोसिस भएन भने यो (मंगलबारको प्रदर्शन) भातख्वाउरे मात्र हुनेछ, आन्दोलनको आँधी–हुरी आउन बाँकी छ, नेपाली जनता जागिसकेका छन्, छोड्ने छैनन्,’ प्रचण्डले भने, ‘प्रतिगमनकारीलाई खबरदारी गर्छु । जनतालाई झुक्याएसी झुक्किन्छन् भन्ने ठानेको हो भने त्यो ठूलो भूल हुनेछ । समयमै सच्याएनौ भने अढाई सय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुशतावादीलाई सजिलै बढार्नेछन् ।’
दोस्रो चरणमा कडा आन्दोलन, तयारीमा बस्दा हुन्छ
प्रचण्डले बुधबारै दोस्रो चरणमा कडा आन्दोलन घोषणा गर्ने बताउँदै सामना गर्ने तयारीमा बस्न प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिए । ‘यो जीवनमरणको संघर्ष हो । बुधबार नै अर्को चरणको कार्यक्रम तयारी गर्दै छौँ, योभन्दा अलि कडा । म केपीजस्तो ढाँटछल गर्ने मान्छे होइन, सीधासीधा भन्छु, हामी अन्तिमसम्म लड्छौँ । तपाईंहरूले के–के गर्न सक्ने हो, तयारी गर्दा हुन्छ, हामी छोड्नेवाला छैनौँ,’ प्रचण्डले भने ।
उनले ओलीले आफूलाई अपमान गरेर जनतामाझ पु¥याएकोमा धन्यवाद र आभारसमेत व्यक्त गरेको प्रसंगसमेत सुनाए । पहिलो चरणमा बालुवाटारमा अध्यक्षको लहरमा बस्ने कुर्चीबाट हटाएर सचिवालयका सात सदस्यको लहरमा राख्दा आफूले ओलीलाई धन्यवाद व्यक्त गरेको प्रसंग सुनाउँदै उनले दोस्रोपटक प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम चालेर जनतामा जाने बाटो खोलेकोमा धन्यवाद भनेको बताए ।
केपी बयलगाडामै हुनुहुँदोरहेछ, समयमै बुझ्न सकिएन
प्रचण्डले ओली गणतन्त्रप्रति इमानदार नरहेको आरोप लगाए । ‘उहाँ बयलगाडामै हुनुुहुन्छ, धर्मनिरपेक्षता, संघीयताविरोधी प्रतिगमनकारी ठाउँमै हुनुहुन्छ, हामीले सच्चिनुभयो होला भन्ने ठान्यौँ, तर अहिले अपिल गर्दै गर्दा कहीँ न कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ, हामीले ओलीलाई बुझ्न सकिएनछ । यति निर्मम संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन । हामीले बनाएको प्रधानमन्त्रीले यस्तो गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ,’ प्रचण्डले भने, ‘केपी ओली विधि–विधानप्रति, कम्युनिस्ट आचारणप्रति स्खलित भइसकेको, मोहभंग भइसकेको पात्र हुनुहुँदोरहेछ । उहाँले भनेको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने विघटनबाट देखियो । उहाँ लोकतन्त्रवादी होइन, निरंकुश तानाशाह हो, जसले देशलाई भड्खालोमा हाल्दै छ भन्ने प्रमाणित भएको छ ।’
सूर्य चिह्न हाम्रै पक्षमा
प्रचण्डले बहुमत केन्द्रीय सदस्य आफ्नै पक्षमा रहेकाले पार्टी र चुनाव चिह्न आफ्नै पक्षले पाउने कुरा दिनको घामजत्तिकै छर्लंग रहेको पनि दाबी गरे । ‘पार्टीको वैधानिकता र सूर्य चिह्नको जहाँसम्म कुरा हो, यो त दिनको घामजत्तिकै छर्लंग छ । साढे तीन सयको नहुने, सयको वरिपरिको चाहिँ चिह्न हुने ? एकजनाको सनकमा संसद् भंग, सनकमा एकजनाले १२ सयजना पु¥याएको छ, कहीँ छलफल छैन, त्यसैले वैधानिक पार्टी हामी हौँ ।’
उनले संसद्मा रहेका पार्टीहरूदेखि ठूलो तप्का प्रतिगमनका विरुद्ध रहेको भन्दै एकाध महिनाको आन्दोलनबाटै प्रतिगमन सच्चिने सम्भावना रहेको भन्दै आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरे ।
ओली र ज्ञानेन्द्रमा उस्तै प्रवृत्ति : अध्यक्ष नेपाल
अध्यक्ष नेपालले ओलीले तत्कालीन ज्ञानेन्द्रले जस्तै राजनीतिक दाउपेच गरेको र तत्काल नसच्चिए त्यस्तै नियति भोग्नुपर्ने बताए । ‘उहाँले बिहान वामदेव, दिउँसो माधव नेपाल, बेलुकी प्रचण्डलाई बोलाएर तपाईंको विकल्प छैन भन्दै प्रधानमन्त्री र एकल अध्यक्षको पद बाँड्नुहुन्छ, अनि हामी तीनैजना भेला भएपछि भण्डाफोर हुन्छ । राजा ज्ञानेन्द्रमा ठीक यही प्रवृत्ति थियो,’ नेपालले भने, ‘ज्ञानेन्द्रले पनि मलाई बोलाएर माधवजी गिरिजाप्रसाद त दलाल हो । कम्युनिस्टमा मात्र देशभक्तिको भावना हुन्छ, अब तपाईंले नै भूमिका खेल्नुपर्छ भन्थे । फेरि गिरिजाबाबुलाई बोलाएर कम्युनिस्टहरू त तानाशाह हुन्, यिनको नामै फेर्नुपर्छ । तपाईंचाहिँ महान् व्यक्ति हो भन्थे । तर, हामी दुवैले आपसमा बस्न थालेपछि पोल खुल्न थाल्यो, त्यसपछि हामी जोइन्ट्ली बस्न थाल्यौँ । केही पार नलागेपछि ज्ञानेन्द्रकहाँ जानै छाड्यौँ । आन्दोलनको सृष्टि ग¥यौँ, ज्ञानेन्द्रको शासन समाप्त भयो, गणतन्त्र आयो । अब केपीका कारण के–के भुक्तमान भोग्नुपर्ने हो थाहा छैन ।’
बालुवा पेलेर तेल निकाल्ने र ओली सुध्रिने कुरा उस्तै
ओलीमाथि अनुशासनको कारबाही गरे पनि अझै केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएर आफ्नो पक्षले सुध्रिने मौका दिएको भन्दै नेपालले सुधारको सम्भावना भने न्यून रहेको औँल्याए । ‘ओलीलाई पार्टीले अनुशासनको कारबाही गरेर अध्यक्ष पदबाट हटाएको छ । तैपनि हामीले उहाँ सुध्रनुहुन्छ कि भन्ने आस गरेका छौँ । अझै पनि पार्टी सदस्यबाट हटाएका छैनौँ, सुध्रनका लागि अन्तिम मौका दिइरहेका छौँ । केही साथीहरूलाई केपी कमरेडलाई सुधार्न सकिन्छ कि भन्ने लागेको छ । उहाँहरू अझै प्रयास गरिरहनुभएको छ,’ नेपालले भने, ‘मैले त भनेको छु, त्यो प्रयास जारी राख्नुस् । बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निकाल्नुभयो भने स्याबास भनौँला । बांगो पुच्छरलाई तेल घसेर सोझो बनाउन कसैले सक्यो भने त्यसमा पनि म स्याबास भनौँला ।’
यद्यपि, अझै ओलीले प्रायश्चित गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाका लागि अग्रसर हुने हो भने विगतका गल्ती बिर्सिएर मिलेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो । ‘उहाँले पश्चात्ताप गर्नुहुन्छ, गल्ती स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ, प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि अग्रसर हुनुहुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौँ । यी सबै कुराबारे टेबुलमा बसेर छलफल गर्न तयार छौँ । तर, यदि उहाँ त्यही बाटोमा हिँड्नुहुन्छ भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन,’ नेपालले भने ।
उनले ओलीमा देखिएको अहंकारका कारण तत्कालीन राजा ज्ञानेन्द्रको नास भएजस्तै आन्दोलनको सुनामीको संकेतले केपी प्रवृत्तिको नास हुने सम्भावना बढेको पनि दाबी गरे । ‘०६२÷६३ मा राजतन्त्रले निरंकुश कदम चालेपछि राजतन्त्र फाल्नका लागि हामीले सडकबाट आन्दोलनको सुनामी सृष्टि गर्नुपरेको थियो । अहिले पनि सुनामीका संकेत देखिँदै छन् । अब केपी प्रवृत्तिको नास भइछाड्नेछ । हाम्रो यो लडाइँ एउटा व्यक्तिका विरुद्धमा होइन, त्यो व्यक्तिमा रहेको व्यक्तिवाद, अहंकारका विरुद्धको लडाइँ हो । यस्तो प्रवृत्तिलाई हाम्रो देशका कुनै पनि जनसमुदाय, संघसंस्था, निकायले साथ दिने छैनन्,’ नेपालले भने ।
ओली पहिल्यैदेखि गणतन्त्रविरोधी
‘केपी शर्मा ओलीले गणतन्त्र प्राप्तिकोे आन्दोलनका सन्दर्भमा कसरी आन्दोलनको खिसी उडाएका थिए, त्यो हामी सबैलाई थाहा छ । ओलीले त्यसवेला भनेको कुरा म स्मरण गराउन चाहन्छु, ‘बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन । सडकमा सानो स्वरको नारा लगाएर राजतन्त्र फाल्न सकिँदैन । उहाँलाई गणतन्त्रप्रति कुनै माया छैन, निष्ठा छैन । प्ररिवर्तनप्रति कुनै अपनत्ववोध छैन ।’
ओलीले चालेको कदमविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्मा रहेका दल, २२ दलीय वामपन्थी मोर्चा सडकमा उत्रिसकेको र समाजका सबै वर्ग, तप्काले उनको कदमलाई प्रतिगामी, गैरसंवैधानिक भनिसकेकाले आन्दोलनकै बलमा प्रतिगामी कदम पराजित हुने दाबी गरे । ओलीमा स्वेच्छाचारी र व्यक्तिवाद प्रवृत्ति हाबी भएको र कम्युनिस्ट तथा लोकतन्त्रवादीमा हुनुपर्ने न्यूनतम गुणसमेत नरहेको उनको टिप्पणी थियो । ‘ओलीजीले जुन तरिकाले प्रतिनिधिसभा विघटन गर्नुभयो, के त्यो आवश्यक थियो ? उहाँ जुन पार्टीमा हुनुहुन्छ, त्यो पार्टीको कुनै कमिटीमा यसबारे छलफल, सहमति भएको थियो ? प्रधानमन्त्रीले पार्टीभन्दा अलग ढंगले स्वेच्छाचारी तरिकाले काम गर्न पाइन्छ ? बहुदलीय प्रणाली भनेको के हो ? पार्टी प्रणाली भनेको के हो ? पार्टी अनुशासन भनेको के हो ? विधि–पद्धति भनेको के हो ?’ उनले भने, ‘ओलीलाई पार्टीसँग, पार्टी अनुशासनसँग कुनै मतलब छैन । पार्टी बैठक, छलफल, सहमति, निर्णयसँग मतलब छैन । उहाँ स्वेच्छाचारी ढंगले चल्न चाहनुहुन्छ । उहाँमा व्यक्तिवाद, निरंकुश प्रवृत्ति, गुटगत प्रवृत्ति हाबी छ । उहाँमा कम्युनिस्टमा हुनुपर्ने, लोकतन्त्रवादीमा हुनुपर्ने गुण र आचरण छैन ।’
ओलीले पदको ललिपप बाँडिरहेका छन्
उनले प्रतिनिधिसभा विघटनपछि ओलीले अझै कामचलाउ हैसियत स्वीकार नगरेको बताए । ‘प्रतिनिधिसभा विघटन गर्ने व्यक्ति विघटन भइसकेपछि पनि प्रधानमन्त्री भनेर सम्बोधन भइरहेको छ । के यो संविधानको प्रावधानसँग मेल खान्छ ? प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने संविधानमा छ । यदि प्रतिनिधिसभा छैन भने त्यो व्यक्ति प्रधानमन्त्री हुन सक्दैन, कामचलाउ मात्र हुन्छ । तर, ओली कामचलाउ भएका छन् भन्ने आधिकारिक विज्ञप्ति अहिलेसम्म सार्वजनिक भएको छैन,’ नेपालले भने, ‘किनभने उनलाई रहर छ पद बाँड्ने, पदको ललिपप बाँडिरहेका छन् । मन्त्री बनाइदिन्छु, भोलि मेयरको टिकट दिन्छु, राजदूत दिन्छु, विभिन्न नियुक्ति दिलाउँछु भन्दै लालच बाँडिरहेका छन् ।’
सूर्य चिह्नको भ्रममा नराख्न आग्रह
नेपालले पनि अर्का अध्यक्ष प्रचण्डले जस्तै सूर्य चिह्न आफ्नै समूहले पाउने जिकिर गरे । ‘बालुवाटारमा बसेको केही व्यक्तिको भेला मात्र हो, नेकपाको बैठक होइन । बैठक भएको छ भने कार्की बैंक्वेटमा नेकपाका चार सय ३७ सदस्यमध्ये तीन सय १५ भन्दा बढी सदस्यको बैठक हो । केन्द्रीय कमिटीका दुई सय ९७ को सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग गयौँ । आयोगलाई भन्यौँ, हामी ज्युँदै छौँ । शंका छ भने मुखको मास्क हटाइदिन्छौँ, रगतको जाँच गर्नुस्, हामी ज्युँदै छौँ,’ नेपालले भने, ‘हामीले भन्यौँ, सूर्य चिह्न अरू कसैको हुन सक्दैन, यो नेकपाको हुनेछ, त्यसको बहुमतको हुनेछ । सयजनाको सेरोफेरोमा जम्मा भएका सानो गुटका मान्छेले तीन–साढे तीन सयको संख्यालाई चुनौती दिने कुनै वैधानिक आधार रहँदैन ।’ नेकपाको नाम कसले लिने हो, सूर्य चिह्न कसको पक्षमा जाने हो भन्ने भ्रम कसैले लिनु जरुरी छैन ।’
खनालले भने– खोइ घरघरमा ग्यासपाइप ?

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले हावादारी सपना देखाएर केही पनि पूरा गर्न नसकेको भन्दै प्रश्न गरेका थिए । ‘उहाँले कहिले पानीजहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने गफ हाँक्नुभो, तर खोइ पानीजहाज ? खोइ घरघरमा ग्यासपाइप ?’ खनालले भने ।बालुवाटार पुगेदेखि नै ओलीले पार्टी बिर्सिएको उनको आरोप थियो । ‘उहाँलाई पार्टीले प्रधानमन्त्री बनायो, तर बालुवाटार पुग्नेबित्तिकै पार्टी बिर्सिनुभो, पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति तथा कार्यक्रम ल्याउनुभो,’ खनालले भने ।प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको संविधानविरोधी, लोकतन्त्रविरोधी प्रतिगामी कदमलाई सडक आन्दोलनबाटै सच्याउने बताए । उनले आन्दोलनको विकल्प नभएको भन्दै अझै सशक्त कार्यक्रम ल्याउने दाबी पनि गरे । श्रेष्ठ संघर्ष परिचालन कमिटीका संयोजकसमेत हुन् । त्यस्तै, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्रमाथि धावा बोलेको बताउँदै उनको सर्वसत्तावादी निरंकुश प्रवृत्तिलाई पराजित गरेपछि मात्र आन्दोलनले विश्राम लिने बताएकी थिइन् ।











