नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थाइ कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिले मुलुकको लोकतन्त्र खतरामा परेको समेत बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा विस्तारित भेलालाई मंगलबार बाणगंगामा सम्बोधन गर्दै ज्ञवालीले संसद पुर्नस्थापना नभए मुलुकको भविष्य नै अन्यौलमा जाने बताउनु भएको हो । नेकपा प्रदेश इन्चार्ज समेत रहनु भएका उहाँले ओली केपीकोे निरनकुंशता अब धेरै समय नटिक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा उहाँले ओलीका दुई प्रवृत्ति र अपराधको खुलेर विरोध गर्नुभयो । उहाँले भन्नुभयो ‘कम्युनिष्ट पार्टीमा पहिलो र देश, जनता र लोकतन्त्र माथि ओलीले अर्को अपराध गरेकाले ओलीलाई अपराधी भन्दा केही हुँदैन । यो कम्युनिष्ट आन्दोलनमा क्षमा दिने खालको अपराध होइन । इतिहासले सधैँ ओलीलाई धिक्कार्ने छ । उनको अहम र निरंकुश प्रवृत्तिले उनै स्वयमलाई सिध्याउँछ ।’ संबिधान बिपरित मनपरि संसद बिघटन गरेपछि ओलीको नक्कली राष्ट्रबादको पर्दाफास भएको उहाको ठम्याइ छ । पछिल्लोसमय देखिएका बिभिन्न घटनाले उनको राष्ट्रवाद छताछुल्ल भएको ज्ञवालीको भनाई छ ।उहाले केपी ओलीको प्रतिगमन विरुद्ध चुप लागेर नबस्ने भन्दै सडक संर्घषबाट नै संसद पुर्नरस्थापना भएरै छाड्ने ठोकुवा गर्नुभयो । ओलीमा देखिएको अहम् प्रवृत्तिले पार्टी र मुलुक नै संकटमा गएको उहाँको भनाई छ ।
उहाँले देश, जनता र संविधानको रक्षाका लागि अझै पनि बलिदानी गर्न आफूहरु तयार रहेको समेत बताउनु भयो । आगामी वैशाखमा कुनैपनि हालतमा चुनाव नहुने बताउँदै नेता ज्ञवालीले चुनाव हुने सपना नदेख्न ओलीलाई चेतावनी दिनुभयो ।कार्यक्रममा बोल्दै पूर्बमन्त्री एबम स्थायी कमिटि सदस्य चक्रपाणी खनाल बलदेबले संसद बिघटन गरेर ओलीले मुलुकलाई संकटमा धकेलेको बताउनु भयो । जनताको अपेक्षा पुरा गर्न छोडेर सत्ता टिकाउने खेलमा ओली लागेकाले सबै मिली उनलाई घुँडा टेकाउनु पर्ने उहाँको भनाई छ ।पार्टी एकता विपरित ओलीले काम गर्दा आफूहरुको समाजवादको लक्ष्यमा नै घात भएकोसमेत उहाँले बताउनु भयो ।
केन्द्रिय सदस्य ठाकुर गैरेले पनि ओली निरंकुश भएको बताउनु भयो । ओलीको निरंकुशता र तानाशाही प्रवृत्तिले पार्टी र मुलुक नै अप्ठेरो स्थितिमा गुज्रिएको उहाँको भनाई छ । यो निर्वाचन हुने निर्वाचन नभएकाले भ्रममा नपर्न नेता कार्यकर्तालाई उहाँको आग्रह छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी , जिल्ला सचिव रामचन्द्र शाह विष्णु, नेता विष्णु वेलबासे, सिद्धार्थ क्याम्पसका स्वाबियू सभापति शुसिल खत्री लगायतले बोल्दै मुलुक नेकपामय भएको बताए । देशलाई समृद्धिको बाटोमा लम्काउने बेला ओलीले लोकतन्त्रमाथि गरेको हमलाले जनतामाथि बिश्वासघात भएको उनीहरुले बताए ।कार्यक्रममा बिभिन्न स्थानबाट आएका १ हजार बढी नेता कार्यकर्ताको सहभागिता थियो । सभापछि बसेको विस्तारित वैठकले केहीको कारबाही फुकुवा गरेको छ भने बुटवलमा हुने आम सभाको लागि तयारी समेत गर्ने निर्णय गरेको छ ।