![](https://ujyaalopost.com/wp-content/uploads/2022/02/IMG_20220206_142603.jpg)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् ।
अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रुष्ट बनेका छन् ।
प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) विहान प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभगाी मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए ।
उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईँ एमसीसी जसरी पनि पारित गराउनेगरि लाग्नुभयो, अमेरिकाले पनि दबाब दिने रणनीति बनायो । हामीले अमेरिकालाई लेखेको पत्र यसरी अहिलेको समयमा सार्वजनिक गर्नु गलत हो ।’
प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरु सार्वजनिक गरिनु गलत भएको पनि आफूनिकट नेताहरुसँग गुनासो पोखेका छन् । प्रधानमन्त्री देउवासँगको फोनवार्तामा प्रचण्डले आफू पाँच दलीय गठबन्धन भने तोड्ने पक्षमा नरहेको जनाएका थिए ।
अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।
नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी नेताहरुको प्रधानमन्त्री देउवालाई प्रश्न छ । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।
अनलाइनखबरले आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए । सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।