विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९ लाख ९२ हजार ९ सय ८० पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको हो । चीनको वुहान शहरमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २५ लाख ८७ हजार ९ सय ५ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९ लाख ६७ हजार ४ सय ३ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३ हजार ८ सय २४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नाघेको छ । ब्राजिलमा १ लाख ३६ हजार ५ सय ६५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६ हजार ७ सय २४ जनाको मृत्यु भएको छ ।
त्यस्तै रुस १० लाख ९७ हजार २ सय ५१ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ६२ हजार ८ सय ६५ व्यक्ति संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ ।– रासस/एएफपी