डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकहरु बहिरंग सेवा बहिस्कार गरेर प्रदर्शनमा

चिकित्सा शिक्षा सुधारको माग राखेर २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ। केसीको स्वास्थ्य जाँच गरेका डा. सुवास आचार्यका अनुसार रक्तचाप घटेर ७०/५० मा पुगेको छ।
आचार्यको टोलीले यसअघि नै केसीलाई आईसीयूमा भर्ना गर्न सुझाव दिएको थियो। तर, उनले आईसीयूमा उपचार गर्न अस्वीकार गरेका छन्। डा. केसीको उपचारमा संलग्नत आन्तरिक टोली अहिले परामर्शमा रहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। सरकारले आजसम्म पनि वार्ता टोली गठन गरेको छैन।
मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न सरकारका तर्फबाट शिक्षा सचिवसहित तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो। टोलीले डा. केसीसँग सत्याग्रह रोक्न आग्रह गरेका थिए।
उनीहरुले सरकारका तर्फबाट औपचारिक रुपमा वार्ता टोली गठन नभएको जानकारी पनि गराएका थिए। तर, डा. केसीले अनशन जारी राख्ने बताएका थिए।
चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा. केसीले  २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरा मष्ट मन्दिरबाट अनशन शुरू गरेका थिए।
यता सरकारले डा. केसीका माग पुरा नगरेको र उनीसँग संवाद गर्न वार्ता टोली समेत गठन नगरको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एसोशियसनले २० असोजमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालका लागि विरोधका कार्यक्रम नै घोषणा गरेको थियो।
एसोशियसले दैनिक बिहान १० देखि १२ बजेसम्म त्रिवि शिक्षण अस्पतालको प्रांगणमा भेला भएर धर्ना दिने र कोणसभा गर्ने, सबै आवासिय चिकित्सकले बहिरंग सेवा बहिस्कार गर्ने, कोभिड, इर्मेजेन्सी र इन्डोर सेवामा कालोे पट्टी बाधेर काम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। त्यहीअनुसार उनीहरुले आजदेखि विरोधका कार्यक्रम शुरु गरेका छन्।
डा. केसीको सर्मथनमा देशका विभिन्न ठाउँमा पनि प्रर्दशन भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation