
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आ(आफ्नै स्वार्थ भएकाले न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना आफूले नदेखेको बताएका हुन् ।
‘न्यायलयलाई तत्काल सच्याएर लाने सम्भावना मैले देखेको छैन । किनभने तपाईं हामी कति तयार छौं भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीतिक दल पनि सच्चिनुपर्नेछ । न्यायाधीश पनि सच्चिनुपर्ने छ । अधिवक्ताहरु, बार पनि सच्चिनुपर्ने आवश्यक देख्छु,’ उनले भने । अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरालाई हटाएर यो यो फैसला गराउने भनेर न्यायाधीश, एमिकस क्युरी, एकपक्ष वकिल बसेर तय गरिएको भन्दै यसरी न्यायलय नसच्चिने पनि बताए । ‘अस्ति न्यायाधीश, एमिकस क्युरी र एकपक्ष वकिल बसेर जे तय गरेको छ, त्यो विरोधाभाष कुरा भयो । त्यसले कसरी सच्चिन्छ उनले प्रश्न गरे ।
उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । ‘यो अभियानलाई पूर्णता दिउ । न्यायलय सुधारका २० प्रतिशत कुरा उठाउनुभयो । १०० प्रतिशत बनाएर आउनुस्,’ उनले भने ।