भारतको गोरखपुरको निर्वासित बसाइ । उनका बुबा कलकत्ता गोरखपुर आउजाउ गरिरहने । त्यसै बखत सन् १९७५ मा भारतमा जुली सिनेमा रिलिज भयो । किशोरीको प्रेममा आधारित फिल्मले भारतभरि तहल्का मच्यायो । कक्षा ९ मा पढ्ने पुष्पा भुसालको कक्षामा पनि यो सिनेमा बारे कुरा हुने नै भयो ।
किशोरी मन सिनेमा हेर्न हुरुक्कै हुन्थ्यो । जसै बुबाको अनुहार सम्झिन्थिन् सिनेमा हेर्ने कुरा बिर्सन खोज्थिन् । तर साथीहरुको निरन्तरको कुराले यो फिल्म हेर्ने रहरलाई भने बुबाको डरले रोकेन उनलाई । पहिल्यै आमालाई फकाएर जुली सिनेमाकी नायिकाको ड्रेस सिलाइसकेका थिए उनी र उनकी दिदीले ।
स्कुल छुट्यो घर जान पर्ने उनीहरु लागे विमला सिंहको घरतिर । अनि गए फिल्म हेर्न । फिल्म हेरुञ्जेल रमाइलै भयो जसै फिल्म सकियो अनि याद आयो घरको । हतार हतार उनीहरु घर पुगे । आमाले हल्का गाली गरिन् ।
उनी र उनकी दिदीले आमालाई फिल्म हेर्न गएको कुरा बुबालाई नभन्न आग्रह गरे । त्यतिबेला आमाले मानिन् पनि । जसै उनका बुबा एक हप्तापछि घर आए आमाले बुबालाई पोल खुलाइदिइन् । त्यसपछि त घरको अनुशासन झनै कडा भयो । स्कुलबाट घर घरबाट स्कुल बाहेक अन्त जानैै नपाउने पो भयो । कडा अनुशासनमा बित्यो उनको बाल्यकाल ।
बालखैमा निर्वासित
२०१७ सालको पुस १ गते राजा महेन्द्रले कु गरेर निर्वाचित सरकार हटाएर शासन सत्ताको बागडोर आफ्नो हातमा लिए । उनका बुबा काशिनाथ गौतम तत्कालीन गुल्मी क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनी स्वास्थ्य तथा स्थानीय स्वायत्त मन्त्री थिए । धन्न त्यतिबेला पुष्पाका बुबा अमेरिका थिए र जेल जानबाट जोगिए । जसै राजाले शासन हातमा लिए उनकी आमा शारदा गौतमले तारिख बोक्नुपर्यो । अन्ततोगत्वा सरकारले बसिखान दिएन काखकी सानी छोरी र अन्य दुई सन्तानका साथ शारदा गौतम पनि निर्वासित भई वनारस जान बाध्य भइन् । त्यही सानी काखकी छोरी हुन् पुष्पा भुसाल गौतम । नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक एवं नेपाली कांग्रस केन्द्रीय सदस्य पनि हुन् उनी । राजनीतिमा सक्रीय उनी आफ्नो कुरा निर्धक्क र स्पष्ट शैलीमा राख्न सक्ने नेतामा पर्छिन् ।
केही समय वनारस बसेर पुष्पाका बुबाले परिवारलाई गोरखपुर सारे । उनका बुबा नेपाल आउन पाउँदैनथे । पुष्पाकी आमा भने खेतबारी हेर्न वर्षको एक दुईचोटी गुल्मी आइरहन्थिन् । आमाकै साथ लागेर कहिलेकाहीँ आउँथिन् पुष्पा पनि ।
कोर्षको किताब बाहिर उपन्यास भित्र
पुष्पाको घरमा निकै कडा अनुशासन थियो । बाहिरतिर जान त सख्त मनाही नै भने पनि भयो । धेरै साथीहरु पनि हुँदैनथे । स्कुल गयो आयो पढ्यो बाहेक खासै नयाँ काम हुँदैनथ्यो । घरमा धेरै जसो राजनीति गर्ने मान्छेहरु आइरहेका हुन्थे । उनकी आमाले आफ्नो गरगहना बेचेर त्यतिबेला कांग्रेस कार्यकर्तालाई खाना खुवाउँथिन् ।
‘आमा खासै धेरै बोल्नुहुन्थेन,’ पुष्पाले भनिन्, ‘तर घरमा आएका कार्यकर्तालाई खाना नखुवाइ पठाउनु हुन्थेन ।’ उनका बुबा केन्द्रीय नेता नै भएपछि घरमा कार्यकर्ता आउने नै भए । घरमा कांग्रेस कार्यकर्ता आएको बेला प्रजातन्त्र र नेपालको राजनीतिक अवस्थाबारे कुराकानी भइरहन्थ्यो । बुबाको छेउमा बसेर पुष्पा सुनिइरहन्थिन् ।
पुष्पा बस्ने घर नजिकै कांग्रेस नेता गणेशमान सिंहको परिवार पनि बस्थ्यो । गणेशमान सिंह बिहानीमा हिँड्थे । त्यतिबेला सानै पुष्पा गणेशमानलाई चाख मानेर हेर्थिन् । गणेशमानले उनलाई नानी राम्रोसँग पढ भन्ने गर्थे ।
उनी र उनकी दिदी घर नजिकैको कन्या स्कुलमा पढ्थे । उनीहरुको पढाइमा खोेट लगाउने ठाउँ थिएन । स्कुलमा पनि पढाइमा फोकस गर्ने घरमा पनि उस्तै । खासै बाहिरतिर जान नपाइने । गोरखपुरमा त्यतिबेला रिक्साहरु चल्थे । उपन्यास तथा अन्य पुस्तकहरु भाडामा पाइन्थे । त्यतिबेलाका विद्यार्थी केही पैसा जम्मा गर्यो कि उपन्यास किन्ने गर्थे ।
पुष्पाका घरमा आउनेले पनि केटाकेटी देखेर चकलेट किनेर खाउँ है भन्दै पाँच÷दस पैसा दिएर जान्थे अनि पुष्पा र उनकी दिदीको रोजाइ हुन्थ्यो पुस्तक । भाडामा पाइने उपन्यास लिएर आउँथे उनीहरु । त्यो बेलामा कोर्षबाहेकको पुस्तक पढ्ने त चलनै थिएन । पढेको देखे केटाकेटी बिग्रन्छन् भन्ने ठान्थे अभिभावकहरु । पुष्पाको परिवारले पनि खुलेआम पढ्न दिँदैनन्थ्यो । पुष्पाका दिदीबहिनी कोर्षका किताबभित्र उपन्यासको पुस्तक राखेर पढ्थे । उनका बुबाले कोर्षकै पुस्तक पढेको भन्ने ठान्थे । ‘त्यो बेलामा चोरी चोरी कोर्ष बाहिरका पुस्तक पढियो,’ पुष्पाले भनिन्, ‘सायद त्यसैको प्रभाव हुनुपर्छ हरेक कुराको गहिराइमा पुग्ने क्षमता त्यही पढाइले गर्यो कि ।’
मातृभूमिको प्रवेश
सन् १९७६ मा एसएलसी उत्तीर्ण गरेपछि भने उनको यात्रा मातृभूमि नेपालको भयो । उनी परिवारको साथ काठमाडौं आइन् । अनि ल क्याम्पसमा भर्ना भइन् । उनी इण्डियामा बसेर पढेकोले धेरैजसो हिन्दीमै बोल्थिन् । क्याम्पसमा नेपालीमा पढ्नुपर्ने सुरुमा त अप्ठ्यारो पनि भयो । तर उनका बुबाले भनिदिए एक दुई सेमेस्टर पढाइ बिग्रे पनि केही छैन । तर मिहिनेत भने गर्नु । त्यतिबेला कलेजमा चर्कै राजनीति हुन्थ्यो । ल क्याम्पस अखिलको किल्ला नै मानिन्थ्यो । नेविसंघको उपस्थिति थोरै थियो । २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेपछि राजनीतिक माहोल परिवर्तन भएको थियो ।
पुष्पा र उनका साथी कम्युनिस्ट किन हुनुहुँदैन कांग्रेस किन हुनुपर्छ भनेर साथीहरुलाई तर्क दिई सदस्यता बाँड्थे । ‘त्यतिबेला सदस्यता कति बनाइयो बनाइयो,’ पुष्पाले भनिन्, ‘म नेविसंघको इकाईमा पनि थिइनँ पछिसम्म पनि केही भइनँ तर प्रजातन्त्रका लागि लड्नुपर्छ भन्ने थियो । पदका लागि दाबी पनि गरिएन ।’
३६ सालको जनमत संग्रह नबिर्सने त्यो घटना
विद्यार्थी आन्दोलनका कारण पञ्चायती सरकार घुँडा टेक्न बाध्य भयो । ३६ सालमा जनमत संग्रह घोषणा भयो । उनका बुबा पनि बहुदलको प्रचार–प्रसारमा गुल्मी अर्घाखाँचीतिर लागे । मोहन सिंह थापालगायतका कांग्रेस नेताहरु सँगै गएका थिए ।
तर पञ्चायतका मण्डलेले उनका बुबालाई बाँकी राखेनन् । दुवैजनालाई बेस्सरी कुटेर बोरामा हालेर कालीगण्डकीमा फाल्न लाग्दा धन्न गाउँलेले सुईको पाएछन् । अनि उनका बुबालाई जोगाएछन् । पछि उनका बुबाले यो कुरा सुनाउँदा घरमा रुवावासी चलेको पुष्पा सम्झिन्छिन् । उनका बुबाले छोराछोरीलाई अनुशासनमा राखिरहेका थिए । तर राजनीति र नेविसंघमा हिँड्न भने स्वतन्त्र थिइन् ।
पशुपति शमशेर आएपछि कोठा बाहिर
२०३९ सालमा नेपाली कांग्रेसको ठूलै टोली सुधारिएको पञ्चायत व्यवस्थामा प्रवेश गर्यो बखान सिंहको नेतृत्वमा । उनका बुबा पनि प्रवेश गरे । सुरुमा त पुष्पा छक्क परिन् । त्यति त्याग तपस्या गरेको पार्टी किन छाड्नुभयो बुबाले । उनले त्यो कुरा पछिसम्म पनि बुझ्न सकिनन् । तर आफूहरुलाई भने बुबाले कहिल्यै नेविसंघ छाड भन्नु भएन । ‘मेरो गल्ती त नदोहोरा भन्नुहुन्थ्यो बुबा,’ पुष्पाले भनिन्, ‘मैले पनि मैदान छाडिनँ ।’
उनका बुबा ३९ सालमा चुनावमा सहभागी भए र जिते पनि । उनका बुबा यातायातमन्त्री पनि भए । ४२ सालको चुनावमा पनि उनले जिते । जसै बुबाले पञ्चायतमा प्रवेश गरे त्यतिबेला पञ्चायती विद्यार्थीमा प्रवेश गर्ने सोच नै नआएको पुष्पा बताउँछिन् । बरु यता नेविसंघका साथीले भने सुरुवाती चरणमा शंकाको दृष्टिले हेर्थे । तर उनको सहभागिताको कारण त्यो पनि रोकियो ।
बुबा मन्त्री भएपछि सल्लाह गर्न त्यतिबेला पञ्चायतका हस्ती पशुपति शमशेर उनको घर आइरहन्थे । जसै शमशेर आउँथे । उनले पुष्पाको बाबुलाई भन्थे, ‘छोरी त नेविसंघ क्यारे बाहिर पठाउनुस् सल्लाह गर्नुछ ।’ उनी पनि सरक्क बाहिर निस्किन्थिन् । त्यसपछिको समयमा पशुपति शमशेर आउनेबित्तिकै उनी उठेर बाहिर गइहाल्थिन् । कीर्तिपुर क्याम्पसमा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्न उनी त्रिभुवन विश्वविद्यालय गइन् । त्यहाँ उनले राजनीति मात्र हैन गीत गाउने नाच्ने पनि गरिन् । ‘शिक्षा दिवसको दिनमा कार्यक्रम हुन्थ्यो,’ पुष्पाले भनिन्, ‘म त नाच्थेँ नि त्यो बेला ।’
फेरिएको राजनीति
पुष्पाले नेविसंघमा सक्रिय राजनीति गरिन् तर कहिल्यै पदमा पुग्नुपर्छ भन्ने धारणा नआएको बताउँछिन् । ४६ सालमा आन्दोलन भयो कुनै राजनीतिक पदमा नभए पनि उनी आन्दोलनमा सामेल भइन् । चोपलाल भुसालसँग मागी विवाह गरेकी उनी १० वर्ष उपप्राध्यापक भएर बिताइन् । ५६ सालमा गिरिजाप्रसाद कोइरालाले राजनीतिमा सक्रिय हुन आग्रह गरेपछि भने उनले शिक्षण पेशा छाडिन् । उनले ६३ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिन् ।
व्यवस्था फेरिए पनि सोचाइ नफेरिएकै कारण कतिपय उपलब्धिको महसुस गर्न नपाएको उनले बताइन् । ‘हामीले चाहेर पनि आमाको नामबाट सहजै नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गर्न सकेनौँ,’ पुष्पाले भनिन्, ‘व्यवस्था फेरिँदैमा सोचाइको स्तर फेरिँदैन रैछ ।’
प्रजु पन्त नागरिक न्यूजबाट साभार