सर्वाधिक राशीको चौथो सैनामैना ‘मेयरकप फुटबल’ प्रतियोगिता हुँदै

रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको चौथो सैनामैना मेयरकप खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने उदेश्यसहित कन्दरा युवा क्लब सैनामैना वडा नम्बर १०, सालझण्डीको आयोजनामा फाल्गुन २८ गतेदेखि मेयरकप नकाउट फुटबल प्रतियोगिता हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै फागुन २८ गतेदेखि सुरु भएको फुटबल प्रतियोगिता चैत १० गतेसम्म चल्ने खेल संयोजक यम बहादुर श्रीसले बताए । १२ टीमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । उद्घाटनमा खेल कपिलवस्तु ११ र कञ्चन ११ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने सेमीफाइनलमा पराजित हुने दुई टिमलाई जनही २१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए । त्यसै गरी प्लेयर अफ टुनामेन्टले माण्टेन साइकल र अन्य विधामा पनि खेलाडी सम्मान गरिने भएको छ ।

क्लबका अध्यक्ष पौडेलका अनुसार प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिकाबाट आर्थिक सहयोग भएको बताउँदै अनुमानित रु.२० लाख बढी खर्च लाग्ने उल्लेख गरे । विभिन्न व्यापारिक प्रतिष्ठानबाट पनि स्पोन्सर समेत आएको बताए ।

सम्मेलनमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि नगरले खेलकुद विकास नै गठन गरी अघि बढेको बताइन् । सैनामैनाका विभिन्न ठाउँमा खेलमैदान निर्माणाधिन अवस्थामा रहेको बताउँदै सैनामैनालाई खेलकुदको हबको रुपमा विकास गर्न जनप्रतिनिधि लागिपरेको तर्क समेत गरिन् ।

यस्तै, कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष अम्मर लम्सालले यस वर्ष सैनामैनामा विभिन्न विधाहरुका खेलहरु भइरहेको बताउँदै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न समिति लागेको बताए । उनले खेलकै माध्यमबाट देशलाई विश्वमै चिनाउन सकिने बताउँदै सबैको साथ र सहयोगको अपेक्षा समेत गरे । खेलका लागि सम्पूर्ण तयारी पुरा भएको जनाउदै सैनामैना वडा नम्बर १० पानबारी खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation