एमसिसी विरुद्ध चार विद्यार्थी संगठनद्वारा बुटवलमा संयुक्त विरोध सभा

रूपन्देहीमा एमसीसी विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैठौं) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट बैज्ञानिक समाजवादी विद्यार्थी संगठनको संयुक्त मोर्चाले विरोध सभा प्रदर्शन गरेका छन् ।

विरोध सभामा बोल्दै नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष रुपा बुढामगरले सत्ता गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी संझौता संसदबाट चोर बाटो हुँदै पारित गरेपनि यसलाई कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एमसीसीको विरुद्धमा  विद्यार्थीहरुले निरन्तर संघर्ष गर्ने बताइन् । उनले देशमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि र महंगीको मार नेपाली जनताले भोग्नु परिरहेको अवस्थामा राष्ट्रियता र स्वाधिनताको पक्षमा पनि आन्दोलन जारी रहने बताईन् ।

अखिल छैठौंका केन्द्रीय सचिव सरोजमान सिंहले राज्यले नेपालमा साम्राज्यवादी कानुन जवर्जस्ती लाद्न खोज्दै नेपालको संविधानलाई प्यारालाइसीस बनाउन खोजेकोले यो राष्ट्रघाती एमसीसी संझौता सह्य नहुने बताउदै निरन्तर आन्दोलन हुने बताए । (क्रान्तिकारी) का दिल बहादुर चँुदाराले राष्ट्रघाती एमसीसी विरुद्धको आन्दोलनमा विद्यार्थीहरुको अहं भूमिका रहेको र यसको विरुद्धमा आन्दोलन जारी रहने बताए ।

विरोध सभामा बैज्ञानिक समाजवादी विद्यार्थी संगठनका दिपेशराज कँडेलले एमसीसी विरुद्धमा देशभरका आम विधार्थी संगठनले एमसीसी नेपालबाट खारेज नहुँदा सम्म निरन्तर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम अखिल (क्रान्तिकारी) रूपन्देहीका जिल्ला उपाध्याक्ष पारस राहादीमगरले सञ्चालन गरेका थिए ।

एमसीसी विरुद्धको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध सभा गरिएको जनाइयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation