अनिश्चित समयका लागि नेकपा सचिवालय सदस्य धर्मेन्द्र र सुदर्शन जिम्मेवारमुक्त

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले अनिश्चित समयको लागि सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त भएको घोषणा गरेका छन् ।

महासचिव विप्लवले कञ्चन र सुदर्शनले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरुमा अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका छन् ।

 

उनले काठमाडौंमा सचिवालयका सदस्यहरु दुइपटक बसेर पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरेपनि कञ्चन र सुदर्शन त्यसको विपक्षमा उभिएको बताएका छन् । निर्णय बाहिर नपुग्दै उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवम् अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नुभयो । तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो’, विप्लवले भनेका छन् ।

‘सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र हो । यो समस्याको चुरो कुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखिनै सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए’, प्रस्ट पार्दै विप्लवले भनेका छन्, ‘सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गम्भीर छलफल भए । ’

विप्लवले कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गम्भीर छलफल चलेका र त्यसक्रमममा केही विषयमा मेल नखाएको बताएका छन् । ‘तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु भएको छ । यो एकदमै गलत तर नियोजित प्रचार मात्र हो’, विप्लवले भनेका छन् । गएको असोज–कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजरकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राखेको भन्दै उनले बास्तोलाले समेत नवौं पूर्ण बैठक देखिनै राष्ट्रपति प्रणालीको प्रस्ताव महासचिवले पेस गर्नुपर्ने धारणा राख्दै आएको र जुन विषय कार्यनैतिक रुपले चुनावमा स्वतन्त्र उम्मेदवार पठाउनेभन्दा पनि गलत हुने उल्लेख गरेका छन् ।

‘उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन मार्क्सवादको विश्लेषण हुन्छ । यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुँदैन’, विप्लवले भनेका छन् । उनले ‘जब कुनै नेताले आफ्ना राजनैतिक दृष्टिकोण र व्यवहारिक गतिविधिहरु पार्टीका वैचारिक, राजनैतिक, आर्थिक एवं संगठनात्मक मान्यताहरुभन्दा उल्टो गर्दै जान्छ, आफ्नो गलत सोचहरु सार्वजनिक रुपले तथानाम राख्न थाल्छ, उसले औपचारिक घोषणा नगरे पनि सारतः पार्टी सम्बन्धबाट स्वतन्त्र भइसकेको हुन्छ । उसले केवल अलग हुने सहज बाटोको खोजी मात्र गरिरहेको हुन्छ । सचिवालय सदस्य सुदर्शन र कञ्चन यस्तै अवस्थामा पुग्नु भएको छ’ भनेका छन् ।

विज्ञप्तिमा सुदर्शन जी र कञ्चन जीले मच्चाएको वितण्डा एवं कञ्चन जीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरुसगँ छलफल गरियो । सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनको गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइएको छ ।

हाम्रो पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थयौँ तर विभिन्न तत्वहरुको उक्साहट, मुख्यत सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी गतिविधिका कारण यो लिनुपर्ने अवस्था सिर्जना भएको छ । तथापी हामी सबै पार्टीपंक्तिलाई बाह्रौं पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यान्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दर्छौं भन्दै वक्तव्य जारी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation