हेमन्त र धर्मेन्द्रको रणनीति : सके बहुमतबाट कारबाही नभए नयाँ पार्टी

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएर नयाँ नीति अख्तियार गर्ने भएका छन्। विप्लवसँग पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो पक्षको केन्द्रीय समितिबाट सके बहुमतबाट विप्लव पक्षलाई उल्टै कारबाही गर्ने नभए नयाँ पार्टी बनाएर जाने रणनीति लिएका हुन्।

गत चैत पहिलो साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकलाई आधार बनाउँदै ओली र बास्तोलाले आफू पक्षको बहुमत भएको निष्कर्ष निकालेका छन् । त्यहीँबाट उनीहरूले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई समेतलाई कारबाही गरेर नेकपालाई निरन्तरता दिन खोजेका छन्।

ओली र बास्तोलाले बैठक बोलाएर आफ्नो हैसियत नाप्नुका साथै नयाँ नीति अख्तियार गर्ने तयार गरेका छन् । बैठकमा जिल्ला सेक्रेटरीसहित केन्द्रीय सदस्य दुबैलाई बिहीबार काठमाडौँ बोलाइएको छ । त्यहीँ बैठकबाट बहुमत केन्द्रीय सदस्यबाट विप्लव र विश्वकर्मालाई कारबाही गरी पार्टी नेतृत्व हत्याउने उनीहरुको योजना छ । पार्टी नै विभाजन गर्ने अवस्था भएपनि बहुमत भएमा विप्लव र प्रवक्ता विश्वकर्मालाई कारबाही गरेर जाने त्यसो नभए नयाँ पार्टी गठन हुने सुदर्शन पक्षका नेताहरुको ढृढता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation