सैनामैनाका मेयरले घोषणापत्र पूरा गर्न भोट मागे तर काम गरेनन्

२० बैशाख । ५ वर्ष अघि भएको निर्वाचनताका एमालेले सैनामैना नगरपालिकाको लागि १५ शीर्षकमा करिब सय बुँदाको घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र लिएर अहिलेका मेयर चित्रबहादुर कार्की र उपमेयर बिना राना उतिबेला भोट माग्दै घर घर पुगेका थिए । चुनाव जितेर पनि आएर ५ वर्ष नगरपालिका पनि चलाए । तर उनले घोषणापत्र अनुसार बाचा गरेका प्रतिवद्धता पूरा गरेनन् ।

घोषणापत्रमा सैनामैनाका भित्री शाखा सडकहरुमा नगरबस सञ्चालन गर्ने कुरा उल्लेख छ । तर पूर्व पश्चिम राजमार्ग बाहेक शाखा सडकहरुमा इ–रिक्सा र निजि सवारी साधनकै भर पर्नुपर्छ । सैनामैनाका घमाहा, दानव, इंगुरीया, कञ्चनको दायाँ बायाँ दुबैतर्फ हरित सडक बनाउने घोषणापत्रमार्फत मेयर र उपमेयरले प्रतिबद्धता गरेका थिए । अवस्था भने पाँच बर्ष बित्दापनि जस्ताको तस्तै छ ।

सार्वजनिक ठाउँमा वाइफाइ फ्रि गर्ने कुरा घोषणापत्रमै सिमित भएका छन् । सालझण्डी ढोर पाटन सडक खण्डको मुख्य केन्द्र रहेको सालझण्डीको आसपासमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने मेयर कार्कीले प्रतिबद्धता सुनाएका थिए । सालझण्डीमा सामान्य बसपार्क बनेको छ । कुनै आधुनिकता देखिँदैन । रानीबगिया झिंगामारा सडकलाई स्तर उन्नति गरी कालोपत्रे गरिने कुरा घोषणापत्रमा लेखेको भएपनि बर्खायाममा यो बाटो हिड्नै नसकिने छ ।

पर्रोहा र रामापुर क्याम्पसमा कृषिवन तथा अन्य प्राविधिक शिक्षा विषय अध्यापन गराइने घोषणापत्रमा लेखिएको थियो । तर यी कुरा देखाउनको लागि राखेको जस्तो भएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि नगरमा एउटा पोलिटेक्निकल इन्स्ट्च्यिूट खोलिने, सैनामैनामा रहेका प्राकृतिक चिकित्सा केन्द्रलाई अनुसन्धान र प्रशिक्षण केन्द्रको रुपमा विकाश गरिने कुरा पनि कार्यान्वयन हुन सकेको छैन ।

५ वर्ष भित्र सैनामैना नगरपालिका भित्र १०० शैयाको अस्पताल निर्माण गर्ने घोषणापत्रमा उल्लेख थियो तर ५ वर्ष वित्दासम्म भर्ना हुने विरामी बुटवल वा अन्यत्र जानुपर्ने अवस्था छ । १० वर्ष भित्र ५०० शैयाको सुविधा सम्पन्न आधुनिक अस्पताल सहितको मेडिकल कलेज स्थापना गर्ने कुरा तत्काल सम्भव देखिँदैन ।

पर्यटन क्षेत्र तर्फ पनि केही पुरा हुनै नसक्ने र कति पूरा हुन सक्ने भएर पनि कार्यान्वयन नभएका प्रतिबद्धताहरु छन् ।

पर्रोहा बोलबम धामको प्रचार विश्वव्यापी बनाइने, धामको आसपासमा विशाल शिवको मूर्ति बनाइने, चुरेका उपयूक्त ठाउँ तथा खाली तथा पर्ति जग्गाहरुमा पार्क, बाल उधान, तथा पिकनिक क्षेत्र आदिको निर्माण गरिने, लुम्बिनी रोडको उपयुक्त स्थानमा विशाल वुद्ध मूर्तिको निर्माण लगायतका योजनाहरुको सपना बाँडीएको भएपनि पाँच वर्षमा कत्ति पनि योजना अघि बढेन ।

कृषि पशुपन्छी तथा फलफुलमा अनिवार्य विमा, कृषि पाकेट क्षेत्रको कृषिलाइ आधुनिकिकरण गर्दै कृषि रिर्सोटहरु निर्माणमा प्रोत्साहित गरिने, विभिन्न स्थानहरुमा कृषि उपज संकलन केन्द्र स्थापना गरी विचौलिया र दलाल प्रवृतिलाई निरुत्साहित गरिने कुरा कागजमै सिमित भए ।
यी लगायत धेरै कुराहरु घोषणापत्रमा लेखेर पनि मेयर चित्रबहादुर कार्की र उपमेयर विना रानाले कार्यान्वयन गराउन सकेनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation