विरोधको लागि छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाकै अपमान – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका छन् । ‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ उनले भने, ‘कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छन् ।’

 

सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह र भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । सिंह, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् भने दाहाल, प्रचण्डकी छोरी पनि हुन् ।

 

महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ, त्यसैले व्यक्ति र सम्बन्धभन्दा पनि काम हेरौं” प्रचण्डले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation