अमेरिकामा मृत्युको प्रमुख कारक बन्दै कोभिड १९

गत फेब्रुअरीको अन्तिम दिन, वासिङटनमा एक व्यक्तिको मृत्यु भयो। ५० वर्षीय उनी कोरोना भाइरस संक्रमणका कारण मर्ने पहिलो अमेरिकी थिए।

महामारीका रुपमा विश्वभर फैलिएको यस भाइरसकै कारण अमेरिकामा मात्रै मर्नेको संख्या चार हजार सात सय पुगिसकेको छ। जोन होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २ लाख १३ हजार ३ सय ७२ मानिस कोरोनाबाट संक्रमित छन्।

पहिलो मृत्यु देखिएको ठीक एक महिना पछाडि, मार्च महिनाको अन्तिम दिन मात्र अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या सात सय ४८ पुगेको थियो।

हाल अमेरिकामा हुने मृत्युको कारकमध्य कोरोना भाइरस तेस्रो नम्बरमा रहेको छ। मुटुको समस्या मृत्युको पहिलो कारक हो भने दोस्रो ठूलो कारक क्यान्सर भएको न्युयोर्क म्यागजिनले जनाएको छ।

तेस्रो कारक मानिएको ट्राफिक दुर्घटना भने घटेको छ। विश्वका अधिकांश देशमा महामारी नियन्त्रण गर्न का लागि लकडाउन गरिएपनि अमेरिकामा भने लकडाउन गरिएको छैन। यद्यपि, । कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउँदै मानिसहरु ‘सेल्फ क्वारन्टाइन’मा छन्। मानिसको भिड र गाडीहरुको चहलपहल कम भएसँगै दुर्घटना घटेको जनाइएको छ।

अमेरिकामा कोरोना संक्रमण तिव्र रुपमा बढ्दो छ। न्युयोर्कमा सबैभन्दा धेरै संक्रमित छन्। आगामी एक सातासम्म भाइरसका कारण मृत्यु हुनेको संख्या यही अनुपातमा बढे कोभिड-१९ नै अमेरिकामा दैनिक हुने मृत्युदरको प्रमुख कारक बन्ने न्यूयोर्क म्यागजिनले जनाएको छ।

त्यसो त अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकामा मृत्यु हुनेको संख्या एक लाखदेखि दुई लाख ४० हजार सम्म पुग्ने चेतावनी दिइसकेको छ। ह्वाइट हाउसको कोभिड-१९ सम्बन्धी टास्क फोर्सका दुई वरिष्ठ विज्ञहरुले यस्तो चेतावनी दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation