![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/renu-d.jpg)
भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला चुनावको धपडी छ ।
पूर्व सांसद जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ । एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गठबन्धनलाई सहज छैन । तर पछिल्लो समयमा आफ्नो पक्षमा कांग्रेसका नेताहरू खुल्दै गएकाले माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई केही राहत महसुस भएको छ । भरतपुर महानगरमा विकासको राम्रा काम गरेकाले लोकप्रिय मतका साथ चुनाव जित्ने रेनुको दाबी छ ।
‘गठबन्धनको उम्मेदवार समयमा टुंग्याउन समस्या, पालिका र वडाहरू मिलाउँदा समय लागेकोले गर्दा चुनाव प्रचार–प्रसारमा जान केही ढिला भएको छ । तर जनताको बीचमा पुगिरहेका छौं । सबै वडामा कोणसभा गरेर घरदैलो भइरहेको छ ।आम मतदाताको बुझाइ विकासका लागि रेनु दाहाललाई एकपटक फेरि मत दिनुपर्छ भन्ने पाएकी छु ।’ रेनुको भनाइ छ ।
भरतपुरमा आफूले अघि सारेका योजनाहरूलाई पूर्णता दिन दोहोरिनुपर्ने अवस्था आएको हो। स्थानीय तहमा काम गर्न चुनौतीपूर्ण छ, त्यही चुनौती रेनुले रोजेको सर्वसाधारणको बुझाइ छ ।
‘पाँचदलीय गठबन्धनको साझा उम्मेदवार र महिला भएको हिसाबले पनि मेरो पक्षमा राम्रो माहोल बनेको छ । सकेजति काम पनि गरेकै छु । युवाको मन जितेकी छु, सबैको साथ र सहयोग रहनेछ । १० हजार त लोकप्रिय मत नै आउँछ ।’ उनको विश्वास छ ।