अमेरिका लकडाउन नहुनुका ६ कारण

११ चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बन्द हुन र बन्द गराउनका लागि बनेको देश नभएको बताए । कोरोना भाइरसका कारण अमेरिका बन्द गर्दा राम्रो हुने सुझाव दिइरहँदा बन्द गरेपछि नियन्त्रणमा लिनका लागि सहज हुने चिनियाँ उदाहरण हुदाँहुदै पनि ट्रम्पले त्यसलाई अस्वीकार गरे । यो लेख लेखिरहँदा अमेरिकामा मात्र २ लाख ४५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् भने ६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

न्युयोर्कमा मात्रै ९३ हजारभन्दा बढी संक्रमित छन् भने २५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । तर, रोचक कुरा न्युयोर्कमा अहिले पनि सार्वजनिक रेल बन्द भएको छैन । न त दैनिक उपभोग्य सामग्री स्टोर नै बन्द भएका छन् । केही ठूला व्यापारिक मल तथा मनोरञ्जनस्थलजस्ता स्थानबाहेक अन्यत्र बन्द छैन ।

चीनले लकडाउन गरेर छोटो सममा स्थितिलाई नियन्त्रण गरेको र लकडाउन नगर्दा इटाली र स्पेनले हृदयविदारक अवस्था भोगिरहेको उदाहरणले अमेरिकालाई छोएको देखिँदैन ।

स्थिति अनियन्त्रित रूपमा अगाडि बढिरहँदा अमेरिका किन पूर्ण रूपमा लकडाउन नभएको होला भन्नेमा धेरैलाई आश्चर्य लागिरहेको देखिन्छ । स्थिति अनियन्त्रित भइरहँदा पनि बन्द नगर्नुको पछाडि केही सामाजिक कारणहरू छन्, जसलाई सकेसम्म साधारण शब्दमा उल्लेख गर्ने प्रयास गरेको छु ।

पहिलो, अमेरिकनमा भएको महाशक्तिको दम्भ । अमेरिकी राष्ट्रपतिदेखि गरिब (जसलाई होमलेस भनिन्छ) सम्मलाई अमेरिकी महाशक्तिको दम्भ छ । अरुभन्दा फरक, अरुभन्दा उत्कृष्ट हौँ र रहिरहेका छौँ भन्ने देखाउनु खास अमेरिकी चरित्र हो ।

उदाहरणका लागि दुनियाँले किलोमिटरमा नापिरहेको सडक नाप्न माइल बनाएका छन्, किलोग्राममा मापन गर्ने सामग्रीलाई यिनीहरू एलबीमा तौलिन्छन् । अर्थात् दुनियाँले ‘एसआई युनिट’ले मापन गरिरहेका चिजलाई मापन गर्न अमेरिकीहरूले ‘यूएस कस्टोमरी युनिट’ बनाएका छन् । अर्थात् अमेरिकी अरुभन्दा फरक देखिन चाहन्छन् । झन् चीन र समाजवादप्रति अमेरिकीहरूको घृणा यति धेरै छ कि त्यसको केही अंश मात्र ट्रम्पको व्यवहारमा झल्किएको हो ।

यो विश्वव्यापी महारमारीलाई चीनले जसरी नियन्त्रण गर्‍याे, त्यो मोडल सफल भए पनि त्यसलाई अनुसरण गर्न अमेरिकीहरूलाई त्यही कथित् महाशक्तिको दम्भले दिइरहेको छैन । चिनियाँ तथा समाजवादी भनिएका मोडललाई अनुसरण गर्नुभन्दा त्यो नगरेर जतिसुकै र जस्तोसुकै क्षति बेहोर्नुपरे पनि अमेरिकी शासकलाई राजनीतिक फाइदा ज्यादा हुन्छ ।

दोस्रो, पुँजीवादी बजार केन्द्रित अर्थतन्त्र । सन् १७७६ मा अमेरिका स्वतन्त्र हुँदाताका ९० प्रतिशतको हाराहारीमा रहेको कृषिमा आश्रित जनसंख्या अहिले २ प्रतिशतभन्दा कममा झरिसकेको छ । अर्थात् अहिले अमेरिकाको ९८ प्रतिशतभन्दा बढी मानिस कृषिभन्दा बाहिर छन् । कृषिमा संलग्न जनसंख्या पनि व्यावसायिक कृषि गर्दछ ।

सबै अमेरिकन बजारमा आश्रित छन् । अमेरिकाले यस्तो प्रणालीको विकास गरेको छ, जहाँ कुनै पनि मानिस काम नगरी बाँच्न सक्दैन । १ महिना मात्रै पनि यस्तो दुष्प्रयास गर्‍यो भने उसको सारा जीवनमा त्यसको डरलाग्दो असर पर्दछ ।

निम्नस्तरको आम्दानी भएका अमेरिकनहरूको हकमा त झनै डरलाग्दो अवस्था छ । अमेरिकन जीवनमा ‘क्रेडिट हिस्ट्री’ र ‘क्राइम हिस्ट्री’को ठूलो महत्त्व छ । क्रेडिट हिस्ट्री परीक्षण नगरीकन कुनै पनि व्यक्तिले बैंकबाट ऋण, क्रेडिट कार्डजस्ता सुविधा पाउँदैन । उसले अपार्टमेण्ट भाडामा लिन पाउँदैन । गाडी किन्न ऋण पाउँदैन । १ महिना मात्र समयमा सबै ऋण तिरेन भने उसको क्रेडिट हिस्ट्री बिग्रिन्छ ।

यो बिग्रियो भने अमेरिकनहरू होमलेस हुन पुग्छन् । त्यसैले एक दिन मात्र काम गरेन भने उसको आर्थिक अवस्था बिग्रिन्छ र त्यसले उसको भावी दिन साह्रै असहज बन्न पुग्दछ । त्यसैले जस्तोसुकै जोखिम भए पनि अमेरिकनहरू देश बन्द गरेर घरमा बस्ने दुष्प्रयास गर्नै सक्दैनन् । गाडीदेखि मोबाइलसम्म ऋणमा खरिद गरेका हुन्छन् । स्वास्थ्य बीमा बुझाउनेदेखि अपार्टमेण्टको भाडा तिर्नेसम्मको तनावले यिनीहरूलाई एक दिन पनि आराम गर्ने समय दिँदैन ।

तेस्रो, आउँदै गरेको राष्ट्रपतिय निर्वाचन । स्वभाविकै हो निर्वाचनको मुखमा हरेक राजनीतिक दलहरु नागरिकको मन जित्न चाहन्छन् । आफुलाई अब्बल देखाउन राजनीतिक दलहरु बीचमा प्रतिष्पर्धा हुन्छ । अमेरिका पनि त्यसको अपवाद हुन सक्ने कुरा भएन । यहि २०२० नोभेम्बरमा हुदै गरेको राष्ट्रपतिय निर्वाचनमा सत्तारुढ रिपब्लिकन र प्रतिपक्षी डेमेक्रेटिक पार्टीले आफु अनुकुल बनाउनको लागि गरेको प्रतिष्पर्धाले यसमा केहि भुमिका खेलेको छ ।

रिपब्लिकनबाट निर्वाचन जितेका राष्ट्रपति मात्र होईन डेमोक्रेटिक बाट निर्वाचन जितेका न्युयोर्कका गर्भनरको व्यवहारले पनि यसमा दुवै दलको सहमती भएको प्रष्ट हुन्छ । टलकडाउनले अमेरिकीले रोजगारी गुमाउने हुँदा त्यसबाट उत्पन्न हुने परिस्थिती आफु अनुकुल नहुने दुवै राजनीतिक दलले बुझेका छन् ।

त्यसैले सत्तारुढ मात्र होईन प्रतिपक्षीले पनि लकडाउनलाई आफ्नो एजेण्डा बनाएकै छैन । लकडाउन गरेर केहि हप्तामा स्थितीलाई नियन्त्रणमा लिने भन्दा पनि नागरिकलाई घरघरमा पे चेक पठाएर राहात दिने योजनामा दुवै दल सुरु देखि थिए । स्वभाविकै हो जस आफुमा आओस् भन्ने दुवै दलको अपेक्षा थियो । तर लकडाउन एजेण्डा थिएन । यसरी हेर्दा अमेरिका लकडाउन नगर्ने कुरा दुवै दलको सहमती झै देखिन्छ ।

चौथो, अमेरिकी नागरिकले अबलम्बन गरिरहेको संस्कृति अर्को कारण हो । घरमा खाना बनाएर खाने फुर्सद र रुचि दुवै यिनीहरूलाई हुँदैन । धेरैजस्तो निम्न आर्थिक अवस्था भएका अमेरिकनहरू बिहान हल्का ब्रेकफास्टबाहेक लन्च र डिनर बाहिरै गर्दछन् । घरमा बनाउने खाने संस्कृति कमैसँग मात्र छ । समग्रमा एउटा वर्गको अमेरिकन मानिस होइन कार्ल माक्र्सले भनेको ‘वस्तु’ (जसलाई बुझ्ने भाषामा मेसिन भन्न सकिन्छ) झैँ बनिसकेका छन् ।

साप्ताहिक वा पाक्षिक पे चेक लियो र त्यसले त्यही हप्ता वा १५ दिनको गुजारा चलाउनु उनीहरूको यथार्थता हो । एक दिन काममा गएन भने ठूलो संकट आउँछ । सरकारले फूड स्ट्याम्पमार्फत खटाईखटाई दिएको खाद्यान्न लिनका लागि पनि हरेक हप्ता स्टोर पुग्नैपर्छ । यस्तो अवस्थामा दुई हप्ता अमेरिका बन्द हुने कुरा अमेरिकनलाई सोच्नै गाह्रो पर्छ । भोग्न त निकै परको कुरा भयो ।

पाँचाैं, विगतको अनुभव र वर्तमान स्थितिको नजरअन्दाज । विगतका केही दशकमै सार्स, इबोलाजस्ता भाइरस देखा परे । कतिपय कोरोनाझैँ फैलिएन भने कतिपय केही क्षेत्र वा भूगोलमा मात्र सीमित भए । अहिले ‘चाइनिज भाइरस’ भन्दै ट्वीट गर्दै समय बिताइरहेका ट्रम्पले सुरुमा यसलाई इबोलाझैँ एउटा भूगोलमा मात्र सीमित हुने भाइरसझैँ ठानेको देखिन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनलगायतका निकायले चेतावनी दिँदादिँदै पनि अमेरिकाले यसलाई गम्भीरतापूर्वक लिएन ।

नियन्त्रणका लागि आवश्यक पर्ने लकडाउनको रणनीति बनाएन । हुन त सबै विकल्प सकिएपछिको विकल्प बन्द हो । अमेरिका सम्भावनाको देश हो र यहाँ कुनै सम्भावना सकिँदैन भन्ने सोच हावी छ । त्यही सोच र व्यवहारका कारण पूर्ण बन्दलाई विकल्पको रूपमा छलफलमा समेत ल्याएका छैनन् । अरु विकल्प र रणनीतिमा यहाँका प्रशासक र नीति निर्माता केन्द्रित देखिन्छन् ।

छैठाैं, ट्रम्पको हठ र चरित्रको भूमिका पनि महत्त्वपूर्ण छ । अमेरिकी राष्ट्रपतिसँग विशिष्ट अधिकार छ । यतिबेला अमेरिकामा संकटकालीन अवस्था छ र राष्ट्रपति अझ शक्तिशाली छन् । तर, उनले आफ्नो शक्तिलाई समयमै कोरोना नियन्त्रणका लागि लकडाउन गर्ने तहमा उपयोग गर्नै चाहेनन् । समकालीन विश्वमा ट्रम्प एक हठी चरित्रसहितका निकम्मा राजनीतिक पात्रको रूपमा स्थापित छन् ।

नोबल पुरस्कार विजेता जोसेफ स्टिङलिज आफ्नो पुस्तक पिपुल, पावर एण्ड प्रोफिटमा एक अदूरदर्शी, नश्लवादी शासकको रूपमा ट्रम्पलाई चित्रण गरेका छन् । यिनको हठ र अदूरदर्शिता मात्र होइन, नश्लवादी चिन्तन र व्यवहारले अमेरिकामा कोरोनाको प्रकोप बढ्नुमा ठूलो भूमिका खेलेको छ । सुरुमा चाइनिज भाइरस र वुहान भाइरस भन्दै आरोप लगाउँदै बसेका ट्रम्पले यसको गाम्भीर्यता र जोखिमलाई खासमा आँकलन नै गर्न सकेनन् झैँ देखिन्छ ।

यसर्थ अमेरिका लकडाउन नहुनुमा ट्रम्प आफैँमा जर्बजस्त कारण हुन् भनी भइरहेको आलोचना यथार्थ होइन । यो एउटा कारण भए पनि समग्र होइन । ट्रम्पको स्थानमा अरु कोही राष्ट्रपति भएको भए कोरोना संक्रमणको अवस्था फरक त हुन्थ्यो होला तर अमेरिका बन्द नै हुन भने गाह्रो थियो ।

dipesh.ghimire33@gmail.com

सिलापत्र डट कमबाट साभार गरिएको

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation