२ सय ५ देशमा फैलियो कोरोना संक्रमण, मृतकको संख्या ५९ हजार बढी

काठमाडौं चैत्र २२
कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिँदा संक्रमितको संख्या १० लाख ९६ हजार ८ सय ८२ पुगेको छ ।
अहिलेसम्म १० लाख ९६ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ । ५९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै १३ सय १४ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । यस्तै इटलीमा सबैभन्दा धेरै साढे १४ हजारभन्दा धेरै, स्पेनमा ११ हजारभन्दा धेरै, फ्रान्समा साढे ६ हजार भन्दा धेरै, इरानमा ३ हजार भन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ९ सय ६६ जनाको ज्यान गएको छ भने ८१ हजार ८ सय १७ जना नयाँ विरामी थपिएका छन् ।
यसैबीच भारत मध्य प्रदेशको टाटपट्टी बाखलमा कोरोना संक्रमितको उपचारका लागि पुगेको चिकित्सकको टोलीमाथि आक्रमण भएको छ । कोरोना संक्रमितको संखया बढ्दै गएपछि उपचारको लागि पुगेको डाक्टरको टोलीलाई स्थानीयले ढुंगामुडा गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना संक्रमणका कारण ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
यसैबीच कोरोनाको हल्का लक्षण अझै देखिएको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनन अझै केहही दिन सेल्फ आइसोलेशनमा बस्ने हुनुभएको छ । गएको शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सेइसोलेशनमा बस्दै आउनुभएका उहाँमा अझै पनि तापक्रम नघटेको पाइएपछि फेरि सेल्फ आइसोलेशनमै बस्ने निर्णय गर्नुभएको हो ।
तर उहाँले घरबाटै आफ्नो काम गरिरहनुभएको र शुक्रबार कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि बोलाइएको बैठकको नेतृत्व गर्नुभएको बीबीसीले जनाएको छ ।
जर्मनीका सडकमा अब दुईभन्दा धेरै मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्ने भएको छ । यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न र दुईभन्दा धेरै मानिस भेला हुन प्रतिबन्ध गरेको बीबीसीले जनाएको छ ।
चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराउनुभएको हो । किराना पसल र मेडिकलमा भने यो नियम लागू नहुने खबरमा उल्लेख छ । जर्मनीमा १२ सय ७५ जनाको ज्यान गएको छ भने ९१ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation