सुरेश परियार,असार ५ गते
सैनामैना नगरपालिकाले नयाँ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले योजना तथा कार्यक्रमको भुक्तानी अनलाइन प्रणालीबाटै सम्बन्धीत फर्म तथा ब्यक्तिको बैँक खातामा दाखिला गर्ने प्रबन्ध सहितको सेवा आज देखि सुरु गरेको सैनामैना नगरपालिकाका लेखा अधिकृत शिवलाल अर्यालले जानकारी दिए ।
लेखा अधिकृत अर्यालका अनुसार योजना तथा कार्यक्रम सम्पन्न पश्चात कागजात पुरा भएका योजनालाई अनलाइनबाटै रकम भुक्तानी गर्दै अघि बढ्ने बताउँदै यो सेवाबाट सेवाग्राहीले सास्ती बेहोर्न नपर्ने कुरामा आफु ढुक्क भएको समेत उल्लेख गरे ।साथै,पुर्ण रुपमा साउन देखि लागु हुने बताइएको छ ।
यस्तै,कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले जनताको आवश्यकता र सहजताका लागी पालिकाले अनलाइन प्रविधिलाई थप प्रयोगमा ल्याएको बताइन् । कुनै पनि संघसंस्था वा कन्र्टक्सनहरुले पारदर्शी तरिकाले काम फत्ते गरे सम्झौता अनुसारको रकम खातामा आउने तरिकाले अनलाइन भुक्तानी सेवा नगरपालिकामा लागु गरेको स्पष्ट पारिन् ।
यसैगरि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले अब योजनाको काम सम्पन्न भएपछि भुक्तानीका लागी सेवाग्राही कुरेर बस्नुपर्ने बाध्यता हटेको दावि गरेका छन् । प्रशासनिक क्षेत्रबाट जनतालाई सेवा प्रवाहमा सहजता ल्याउन प्रविधिमैत्री भएर नगरपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत तिवारीको ठम्याई छ ।