आगामी निर्वाचनमा गठबन्धन टुट्दैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआए पनि आगामी निर्वाचनमा गठबन्धन नटुट्ने बताएका छन्।

कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आइपुगेका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि सुखद नभए पनि त्यसबाट पाठ सिकेर अगाडि बढ्ने बताए।

गठबन्धन र तालमेल भनेजस्तो भएन तर पनि गठबन्धन र सरकार मिलेर स्थानीय तहको निर्वाचन सफल पारेर र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कामका लागि दोस्रो निर्वाचनको तयारी गरेको भन्दै यसलाई ठूलो सफलता मान्न प्रचण्डले आग्रह गरे।

´यो गठबन्धन देशलाई ठूलो दुर्घटनाबाट बचाएको गठबन्धन हो, देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो रहेको छ। तसर्थ स्थानीय तहको निर्वाचन परिणाम हेरेरभन्दा पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने हो,` सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले भने।

हामीले स्थानीय तह निर्वाचनमा भएको परिणाम लिएर प्रदेश र संघको निर्वाचनमा राम्रो गर्दैछौं, उनले थपे।

यसअघि प्रचण्डले लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताहरूलाई आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण मन्तव्य दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation