नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् रिक्त भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने ? भनेर प्रश्न गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले यो विषय ऐन र कानुनमा नभएको भन्दै सबै दल यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने पनि थापाको भनाइ छ ।
‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’
सांसद थापाले एकाध महिनाका लागि सेवा, सुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि पक्ष र प्रतिपक्ष नभनी सबै एक ठाउँमा उभिनुपर्नेमा पनि जोड दिए ।
‘निर्वाचनको अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस्,’ भनी आफूले संशोधन हालेको उनले जानकारी दिए ।