निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम स्वीकृत गरेको हो ।
जसअनुसार असोज २३ गते उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्ने र त्यहि दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । असोज २४ गते उम्मेद्वारीउपर दावीविरोधमा उजुरी दिने र मनोनयनय पत्र र उजुरीउपर जाँचबुझ गरी २५ गते नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
कार्यतालिका अनुसार असोज २६ गते एक दिन उम्मेदवारहरुले चाहे आफ्नो नाम फिर्ता लिन सक्ने छन् । त्यहि दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उनीहरुलाई निर्वाचन चिन्ह दिइने कार्यक्रम छ ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूची बुझाउन असोज २ गतेलाई तय गरेको छ । सूचीमा नाम समावेश भएका व्यक्तिले प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाउने आयोगले स्पष्ट पारेको छ ।