म अनैतिक र भ्रष्ट? बात गर्छन्! : गोकुल बाँस्कोटा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएपछि राजीनामा दिएका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका छन्। 

एक जनाले प्रश्न उठाउनसाथ आफूले  छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको उनको तर्क छ। उनले सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टबाहेक अरूले आफूले जसरी अरूले राजीनामा नदिएको जिकिर गरेका छन्।  

‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ। सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन्? अझ म अनैतिक र भ्रष्ट? बात गर्छन्!’ उनले ट्विटरमा लेखेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडिओ सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएका थिए।

त्यसपछि उनी निवासमै छन्। बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्छन्। उनले राजीनामा दिएको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको बचाउ गरेका थिए। 

फागुन १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए- एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ। केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ। 

-प्रधानमन्त्री ओलीले गरे गोकुल बाँस्कोटाको बचाउ

बाँस्कोटाले उक्त अडिओ टेपमा बोल्ने मान्छे आफू होइन भन्न सकेका छैनन् न त त्यसको परीक्षण गर्नु पर्छ नै भन्ने माग गरेका छन्। 

प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गरेको अर्को दिन बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको गरेको भन्दै मुद्दा हालेका थिए। 

उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएका छन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation