मन्त्रीहरुको पक्षमा माओवादी उपाध्यक्ष श्रेष्ठ

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसारमा रोक लगाउन नहुने बताउनुभएको छ । उहाँले मन्त्रीलाई रोक लगाउने ढंगले जारी निर्वाचन आचारसंहिता तत्काल संशोधन गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ ।

नेता श्रेष्ठले बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने उल्लेख गर्दै भन्नुभयो, ‘त्यस्तो अवस्थामा निर्वाचनमा प्रचार प्रसार गर्न मिल्दैन भन्नु ठीक होइन । त्यसो भए कसले प्रचार गर्ने ? वर्तमान व्यवस्थामा कसले राजनीतिक नेतृत्व गर्ने ?’

आज बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले राज्यको स्रोत साधनको दूरुपयोग हुन नदिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँको भनाइ थियो, ‘राजनीतिक नेतृत्व र नेताहरु नै प्रधानमन्त्री, मन्त्री हुने भएकाले निर्वाचन प्रचार प्रसारमा रोक लगाउन मिल्दैन ।’

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा मन्त्रीहरुले आफ्नो क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार–प्रसार गर्न नपाइने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation