राष्ट्रपतिलाई भेटेपछि लाइटरै नबाली पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने माग चर्काउँदै आएका नागरिक समाजका अगुवा,अभियन्ता र राष्ट्रवादी राजनीतिज्ञहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अचम्मका हर्कत गरेको प्रमाण फेला भेटिएको छ । उनीहरुले कुन क्रेडिट लिन हो कुन्नि फोटोसपबाट आफू अनुकूलको तस्बिर बनाएर प्रधानमन्त्रीको पुत्ला जलाएको भन्दै गलत प्रचार गरेका छन् ।
गत आइतवार नागरिकता विधेयक प्रमाणीकरणको लागि दबाब दिँदै नेपाली काङ्ग्रेसनिकट नेविसंघले त्रिचन्द्र क्याम्पस हातामा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको थियो । बिहान नेविसंघले राष्ट्रपतिको पुत्ला जलाएपछि साँझ सोही स्थानमा एमाले निकट अखिलले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलायो ।
तर बारम्बार शीतल निवासमा भेटघाट गरिरहने राष्ट्रवादी अभियन्ता, नागरिकता अध्ययन कार्यदलका सदस्य तथा राष्ट्रघाती नागरिकता विधेयक विरोधी संयुक्त संघर्ष समितिका सदस्यहरुमध्ये नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य साध्यबहादुर भन्डारीले भने हिजो फोटोसपमा तस्बिर बनाई फेसबुकमा पोष्ट गरेर प्रधानमन्त्रीको पुत्ला जलाएको प्रचार गरेपछि समूहभित्र बबाल मच्चिएको छ ।उनले ठाउँ ठाउँमा विभिन्न शक्ति र व्यक्तिहरुले राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको उल्लेख गरेका छन् । विभिन्न नाराजुलुससहितका प्रदर्शन, सभा, विधेयक दहन र प्रधानमन्त्री देउवाको पुत्ला दहनका कार्यक्रमहरुका केही झलक हेर्न अनुरोधसमेत गरेका छन् । तर ती सबै झुठो विवरण र फोटो भएको प्रमाणित बताइन्छ ।
हिजो दिउँसो राष्ट्रघाती नागरिकता विरोधी कार्यक्रम भन्दै माइतीघर मण्डलाबाट साढे २ बजे नाराजुलुससहित बानेश्वर पुगेर सभा भएको उनले लेखेका छन् । कार्यक्रममा सीपी मैनाली,नारायण शर्मा,साध्यबहादुर भण्डारी,नरेन्द्रबहादुर रोकाया,भावना विद्रोहीलगायतको उपस्थिति रहेको पनि जानकारी गराउँदै आएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवालाई एक नम्बरको देशद्रोही घोषणा गरिएको र सोहीक्रममा ‘राष्ट्र द्रोही देउवाको पुत्ला र राष्ट्रघाती नागरिकता विधेयकको प्रतिलिपी जलाऔं’ भनी भण्डारीले नारा लगाएपछि एकातिर विधेयक जलाइएको र अर्कातिर देउवाको पुत्ला दहन गर्दागर्दै प्रहरीले हस्तक्षेप गरेको भनिएको छ । उनले पटक पटक नारा र धकेलाधकेलबीच पुत्ला जलाउने प्रयास भएको बताएका छन् ।
तर,नयाँ बानेश्वरमा प्रदर्शनकारीसँग कुनै धकेलाधकेल नभएको र पुत्लासमेत दहन नभएको प्रहरीको दाबी छ । भण्डारीलगायतले सामाजिक सञ्जालमा लेखेर र गलत फोटो हालेर भ्रमपूर्ण सन्देश प्रवाह गरेको आरोप लागेको छ ।
हिजो दिउँसो भएको कार्यक्रममा प्रहरीले पहिल्यै पुत्ला जफत गरेको प्रत्यक्षदर्शीले समेत बताएका छन् । ‘उनीहरुले विधेयक जलाउने कोशिस पनि गर्न भ्याएनन् । लाइटर बाल्न र सलाई कोर्न नसकेकाले पुत्ला जलायौं भन्नु लाजको पसारोबाहेक केही होइन,’ उनैले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation